
धनकुटा, २६ माघ । धनकुटामा आगलागीसम्बन्धी जोखिम न्यूनीकरण गर्न सचेतनामूलक प्रदर्शनी गरिएको छ ।
सुख्खा समयमा आगलागीको जोखिम बढी हुने भएकाले यस्तो जोखिमलाई कम गर्ने उद्देश्यले धनकुटाको तल्लो टुँडिखेलमा सचेतनामूलक प्रदर्शनी गरिएको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस सोसाइटी जिल्ला शाखा तथा उद्योग वाणिज्य सङ्घ धनकुटाको सहभागितामा बरख गण सल्लेरी ब्यारेक धनकुटाको विपत व्यवस्थापन एकीकृत अभ्यास प्रदर्शन गरिएको हो ।
सो प्रदर्शनीमा आगलागी हुने कारण, त्यसबाट बच्ने उपाय, घाइतेको उद्दार, प्राथमिक उपचार र घाइतेलाई अस्पतालसम्म पु¥याउन अपनाइने तरिकाबारे प्रदर्शन गरिएको थियो । विपतमा परेका व्यक्तिलाई तत्काल गर्नुपर्ने मानवीय सेवा र विपतपछिको राहत व्यवस्थापनसम्मको प्रदर्शनी गरिएको थियो ।
प्रदर्शनी कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बिपत कुन बेला आउँछ भन्न नसकिने भएकाले त्यसको व्यवस्थापनको पूर्व तयारी गर्नु उपयुक्त हुने बताए ।
२ नम्बर बाहिनी हिलेका बाहिनीपति सागर केसीले विपतको समयमा सुरक्षा निकाय नै पहिलो प्राथमिकताका साथ उद्धारमा खट्ने बताए । त्यसैले सुरक्षा निकाय प्रशिक्षित भइरहनुपर्ने र यसले समाजमा सचेतना समेत ल्याउन मद्दत गर्ने उनले बताए । त्यस्तै, प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले पूर्व तयारीले बिपतबाट हुने क्षतिलाई कम गर्न सहयोग पुग्ने बताए ।