
सोलुखुम्बु, २६ माघ सोलुखुम्बुसहित पूर्वी पहाडी जिल्लाका अधिकांश उच्च भूभागमा वर्षासँगै हिमपात भएको छ । बुधबारदेखि बदली भएको मौसमपछि वर्षा र हिमपात भएको हो । सोलुखुम्बुको सल्लेरीसहितका तल्लो भूभागमा तीव्र गतिमा हावा चलेको थियो ।
सल्लेरीबाट देख्न सकिने सबै डाँडाकाँडा हिउँले सेताम्य देखिन्छन् । चिसोका कारण जनजीवन प्रभावित भएको छ । जनजीवन कष्टकर भए पनि पानी र हिमपात भएका कारण किसान भने हिउँदे बाली सप्रने भन्दै खुशी भएका छन् । माघमा परेको पानी बालीनालीका लागि निक्कै राम्रो हुने किसान बताउँछन् । जल तथा मौसम विभागले भोलि आइतबारदेखि मौसम सफा हुने अनुमान गरेको छ ।