भोजपुर २२ माघ ।
प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपको मुद्दामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) सहित २० जना विरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटव्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ दिएको हो ।
गत बर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ स्थायी कमिटी सदस्य धर्मेन्द्र बस्तोला पोलिट्ब्युरो सदस्य पदमबहादुर राई समेतलाई २० जनालाई जिल्लाको ३ ठाउँमा बम पड्काएको आरोपमा ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनीको गरेको मुद्धा जिल्ला अदालत भोजपुरमा दायर भएको थियो ।
टेम्केमैयुङ गाउँपालिका–६, कोट गुम्बामा प्रदेश सभा उम्मेद्वार तथा हालका प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा बम विष्फोट, साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा बाम गठबन्धनको चुनावी सभामा बम विष्फोट गरी २ वटा ज्यान मार्ने उद्योग र षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विष्फोट सम्बन्धी मुद्धा दायर भएको थियो ।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सफाइ पाउनेहरुमा नेकपाका कार्यकर्ताहरु वम विष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ्ग, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङ लगायतका रहेका छन् । त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङ्गलाई तीन बम विस्फोटसम्बन्धी मुद्दामा ४०÷४० हजार जरिवाना लिएको श्रेस्तेदार राजकुमार दाहालले वताए।
त्यस्तै, नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किराती राष्टिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किराँतीको ठेगान स्पष्ट नखुलेकोले तामेलीमा राखिएको जनाएको छ ।
केहि महिनाअघि मात्र सोहि मुद्दामा नेकपा प्रवक्ता प्रकाण्ड सहितका नेताहरुलाई पक्राउ गरि भोजपुर ल्याइएको थियो । प्रकाण्डलाई ६० हजार नगद धरौटी राखेर छुटेका थिए ।