
चितवन, ५ माघ । भरतपुर उपमहानगरपालिका–१ पानीट्यांकीको नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालिका–६ का ४६ वर्षीय सन्तोष नेपाली रहेका छन्।
मुग्लिनबाट नारायणगढतर्फ आइइरहेको ना ८ प ५५०६ नम्बरको मोटरसाइकल नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना ८ ख २२४९ नम्बरको खाली ट्रकसँग शुक्रबार साँझ पौने ८ बजे ठोक्किँदा नेपाली गम्भीर घाइते भएका थिए।
उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नेपालीले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले बताएको छ।






















