
काठमाडौं, पुस २८ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् । देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका बेला वाइडबडी खरिदको रकम भुक्तानीका लागि सिफारिशको निर्णय भएको पाइएको छ ।
रकम भुक्तानीका लागि मिति २०७४ जेठ २४ गते सिफारिश गरिएको थियो । पर्यटन मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा सो समयमा जितेन्द्रनारायण देव पर्यटनमन्त्री भएको भनिएको छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएअनुसार २०७४ वैशाख २५ गते पर्यटनमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका जितेन्द्रनारायण देवको अवधि जेठ २३ गते नै सकिएको थियो । त्यसपछि जेठ २४ गते देउवाको नेतृत्वमा सरकार गठन भएको थियो ।
देउवाले तत्कालका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी लिएका बेला मन्त्रालयका सचिव शंकर अधिकारीले पहिलो किस्ता रकम भुक्तानीका लागि नेपाल राष्ट्र बैंकमा सटही सुविधाको चिठी लेखेका थिए ।














