
भोजपुर,१५ पुस ।
नगरस्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको अध्यक्षमा हरि बहादुर खड्का निर्विरोध चयन भएका छन् । आइतवार भोजपुर नगरपालिका भित्रका विद्यालय व्यवस्थापन समितिको प्रथम भेलाले अध्यक्षमा खड्का सहित २१ सदस्य कार्यसमिति चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा गिता श्रेष्ठ राई, सचिवमा रविन राई, कोषअध्यक्षमा भगवती तामाङ चयन भएका छन् ।
नगरभित्र रहेका ४४ ओटा सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यहरुको भेलाले सिद्धेश्वर माध्यामिक विद्यालय भोजपुर नगरपालिका– ४ दावाँका अध्यक्ष खड्कालाई महासंघको अध्यक्षमा चयन गरेको हो ।
महासंघले गुणस्तरीय शिक्षा प्रवाह गर्न विभिन्न योजना वनाएर काम गर्ने साथै विद्यालय व्यवस्थापन समितिले झेल्नुपर्ने समस्यालाई न्यूनिकरण गर्ने तरिका लगायतको विषयमा आवाज उठाउने नवनिर्वाचित खड्काले वताए । भेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल १ नम्बर प्रदेशको आयोजनामा भएको हो ।

















