खोटाङ । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा आगो लगाई दुम्सी मार्न खोज्दा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
स्थानीय डिउखोलाको ओढार भित्र पसेको दुम्सीलाई आगो लगाई मार्न खोज्दा सोही स्थान बस्ने ४५ वर्षकी सरिता तामाङको मृत्य भएको भने उनिसगै दुम्सी समात्न गएका उनको ११ वर्षीय छोरा नवल तामाङ र ८ वर्षकी छोरी पूजना तामाङ बेहोस अवस्थामा भेटिएको प्रहरी चौकी सिम्पानीले जनाएको छ ।
शनिबार बिहान दुम्सी समात्न ओढार भित्र पसेका तीनै जना अबेरसम्म बाहिर ननिस्केपछि घरका अन्य सदस्य र गाउँलेहरुले खोजी गर्दै जाँदा गर्दा ओढारभित्र आगोले डढेको चप्पल र कपडा भेटेपछि प्रहरी चौकी सिम्पानीमा खबर गरेका थिए ।
घटनास्थलमा प्रहरी टोलीले आमा सरितालाई मृत अवस्था तथा अन्यलाई बेहोस अवस्थामा फेला पारेका थिए । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय खोटाङले जनाएको छ ।