काठमाडौं १७ असार । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे० गरेर सवारी चलाउनेहरुविरुद्धको कारबाहीलाई अझ कडा बनाएको छ । अब सवारी दर्ता किताबमा २४ घन्टे पुर्जीे जारी हुनेछैन भने लाइसन्स नभए थुनामा बस्नुपर्छ ।
महानगरीय ट्राफिक प्रहरीले १५ असारदेखि लागू हुने गरी मापसे गरी सवारी चलाएको फेला परेमा सवारी दर्ता किताबमा २४ घन्टे पुर्जीे जारी नगर्ने निर्णय गरेको हो । अब सवारी चालक अनुमति पत्रमा मात्र पुर्जी जारी हुनेछ ।
मापसे गरेर सवारी चलाउनेसँग लाइसेन्स नभए चालक र सवारीलाई नियन्त्रणमा लिइनेछ । स्वास्थ्य परीक्षण गरी भोलिपल्ट हाजिर गराउने शर्तमा लिखित कागज गरेर अभिभावकको जिम्मा लगाइनेछ । र, भोलिपल्ट उपस्थित गराएपछि कारबाही प्रक्रिया अघि बढाइने ट्राफिक प्रहरीले जनाएको छ ।