भोजपुरमा एक वर्ष देखि पाँच कर्मचारीले पाएनन् तलब…


भोजपुर, ३ असार ।
षडानन्द नगरपालिकाका विभिन्न वडामा करारमा कार्यरत पाँच जना कर्मचारीले २०७४ साउन महिनाबाट मासिक तलब पाएका छैनन् । करिब एक वर्षदेखि तलब नपाएपछि पीडितहरुले तलब उपलब्ध गराइ पाऊँ भन्दै जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, विभिन्न राजनैतिक दलहरुलगायत सरोकारवाला निकायमा निवेदन दर्ता गरेका छन् ।

षडानन्द नगरपालिकाको वडा – ११ र १२ साविकको देउराली गाविसमा २०६६ सालबाट करारमा काम गर्दै आएका खरिदार मुक्ती प्रसाद घिमिरे, २०७० सालबाट काम गर्दै आएका कार्यालय सहयोगी खगेन्द्र कुमार घिमिरे, सोही वडामा २०७६ सालबाट काम गर्दै आएका सन्तोष कार्की र वडा नं – १० साविकाको सामपाङ्ग गाविसमा २०६३ सालबाट काम आएका कार्यालय सहयोगी धर्मानन्द काफ्लेले तलब नपाएको भन्दै निवेदन दिएका हुन् ।

ती कर्मचारीहरु कार्यरत रहेको वडा कार्यालयले करारका कर्मचारीहरुको हाजिरी खाताको प्रमाणीकरणसँगै अन्य कागजात नगरपालिकामा पठाएइसकेको भएपनि तलब नपाएको उनीहरुको गुनासो छ । निवेदक मध्येका एक मुक्ती प्रसाद घिमिरेले भने ‘ हामीले २०७४ साउनबाट तलबका साथै नियुक्ति पत्र समेत पाएका छैनौं ।’ नगरप्रमुख र प्रशासकीय अधिकृतसँग कुरा गर्दा ‘हुन्छ, भइहाल्छ मात्र भन्नुहुन्छ
उनले भने ।

यता नगरपालिकाका प्रमुख विरबल राईले करारका कर्मचारीहरुले पाउने तलब दिने व्यवस्था मिलाउने प्रयास भइरहेको बताए । नगरपालिकाले २०७४ साउन महिनाबाट नै नियुक्ती दिएर जाने निर्णय गरेको भएपनि तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको कारण समस्या उत्पन्न भएको नगर प्रमुख राईले बताए ।
उनले भने, ‘हामी उनीहरुलाई तलब दिलाउने पक्षमै छौं, यस अघि सरुवा भएर गएका प्रशासकीय आधिकृतहरुले उनिहरुलाई नियुक्त पत्र समयमा नदिँदा केही समस्या भएको हो ।’ सरुवा भएर गए पनि अव पहिलाका प्रशाकिय अधिकृतलाई भेटेर उनीहरुको नियुक्ती पत्रमा हस्ताक्षर गराएर तलव दिने लक्ष्यका साथ काम भइरहेको छ, उनले भने ।

सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतहरु जय नारायण खनाल र चन्द्र कार्कीको कार्यकालको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि नगरपालिकाको काममा केही ढिलाइ भएको नगरप्रमुख राईले स्वीकार गरे । उनले भने ‘प्रमुख प्रशाकीय अधिकृत जयनारायणको कार्यकालमा वडा न –८ मा विद्युत विस्तारमा अनिमियतता भएको भन्दै अख्तियारले फाइल तान्यो, उनी सरुवा भएर गएपछि पुनः चन्द्र कार्कीको कार्यकालको फाइएल पनि औषधी खरिदको विषयलाई लिएर अख्तियारले नै नियन्त्रणमा लिएको छ ।’
हालका प्रमुख प्रशासकयि अधिकृत राम प्रसाद वाग्लेले आफ्नो कार्यकाल देखिको तलब र भत्ता खुवाउन सक्ने भएपनि यस अघिका समयको तलबको विषयमा केही नसक्ने बताएको पीडितहरुले बताए । यस विषयमा थप कुराकानी गर्न खोज्दा वाग्लेको मोवाइलमा सम्पर्क हुन सकेन । उनी गत वर्षको १३ फागुनबाट सो नगरपालिकामा आएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले कर्मचारीलाई तलव खुवाउनका लागि पहल भइरहेको वताए । उनले भने‘ मैले वुझ्दा आन्तरिक मामिलाका कारण केहि समस्या रहेको मैले पाए, त्यस समस्यालाई समाधान गरेर अगाडी वढ्नका लागि पहल गर्छु ।’ पहिला देखि काम गरिरहेको र अन्य वैठक भक्ता पाई राखेकोले नगरपालिकाले उनीको तलव रोक्न मिल्दैन, उनले भने ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेले आफ्नो कार्यालयमा पनि तलव दिलाई पाउँ भनि निवेदन आएकाले त्यसको सत्य तथ्य के हो अध्ययन गरेर काम गर्ने वताइन् । उनले भनिन्‘ चार जना कर्मचारीले तलव नपाएको भन्दै प्रसासनमा पनि निवेदन आएको छ, नगरपालिकासंग के कारणले तलव नपाएको भन्ने विषयमा सोधवुझ गरेर काम अगाडी वढाउछु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार