काठमाडौं, १६ जेठ । राजधानीको त्रिचन्द्र कलेजमा कांग्रेस निकट नेपाल विद्यार्थी संघको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीचका विद्यार्थीको ग्याङ फाइटमा तीन जना घाइते भएका छन् ।
यो घटनाका क्रममा खुकुरी हानिँदा नेविसंघ कार्यकर्ता कौशल दाहाल, अजय गजुरेल र गोरख रदुले घाइते भएका महानगरीय प्रहरी वृत्त दरबार मार्गले जानकारी दिएको छ । खुकुरी हानाहानपछि पुगेको प्रहरीले कलेजबाट तीनजनालाई खुकुरीसहित पक्राउ गरेर हिरासतमा लिएको छ । पक्राउ पर्नेहरुमा सहदेव नेपाल, अनिल लामा र सौरभ श्रेष्ठ रहेका छन् ।
नेविसंघका दुई गुटबीच आधिकारिक इकाइ कमिटीका नाममा लामो समयदेखि विवाद रहेको त्रिचन्द्र कलेजमा पटक पटक झडप हुँदै आएको छ । यो कलेजमा दुई गुटमा बाँडिएको नेविसंघको एउटा गुटका नाइके कौशल दाहाल छन् । त्यसैगरी अर्को गुटको नाइकै शान शिवाकोटी रहेका छन् ।
त्रिचन्द्रमा दुई गुटको नेतृत्व गर्दै आएका उनीहरुलाई नेताहरुले पनि संरक्षण गरेका छन् । दाहाललाई नेविसंघ अध्यक्ष नैनसिंह महरको आशिर्वाद छ भने शिवाकोटीलाई महासचिव कुन्दन काफ्लेले साथ दिएका छन् । आधिकारिक कमिटीको विवाद बुधबार पनि चर्किएपछि दाहाल गुटले शिवाकोटी गुटमाथि आक्रमण गरेको जिकिर गरिएको छ । दाहाल गुटले अनिल लामासहितका केही युवालाई खुकुरीसहित बोलाएर आक्रमण गर्न लगाएको शिवाकोटी गुटले दाबी गरेको छ ।
तर आक्रमणका क्रममा दाहाल गुटले बोलाएका लामासहितले चिन्दै नचिनी दाहाल पक्षकै विद्यार्थीहरुमाथि खुकुरी हानेको बताइएको छ । दाहाल गुटकै सदस्यमाथि खुकुरी हानेर भागेका लामासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिचन्द्रमा कुन्दन काफ्लेले शिवाकोटीलाई इकाइ अध्यक्ष बताएका छन् । नैनसिंह महरले दाहाललाई इकाइ अध्यक्षमा चयन गरेका छन् ।
यही विवादकाबीच बुधबार खुकुरी हानाहान भएको हो । एकले अर्को पक्षलाई निषेध गरिरहेका बेला गुण्डागर्दीमा संलग्न युवाहरु नै बोलाएर विद्यार्थीमाथि खुकुरी हान्न समेत लगाइयो । दरबार मार्ग वृत्तका डिएसपी दानबहादुर मल्लका अनुसार जुन समूहले आक्रमणका लागि बोलाएको हो, त्यही समूहमाथि खुकुरी हानिएको शुरुवाती छानबिनबाट देखिएको छ ।