
डडेल्धुरा, १५ जेठ । डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्ष सहित ४ जनाको मृत्यु भएको छ ।
डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहित चार जनाको मृत्यु भएको हो । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ को गजरौलामा मंगलबार बिहान भएको दुर्घटनामा परी सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नं। २ का वडाअध्यक्ष प्रेमबहादुर बोहरा, दिपायल–सिलगढी नगरपालिका–४का गाडीधनी विनोद रावल, आदर्श गाउँपालिका–२ डोटीका लालबहादुर बोहरा र सोही ठाउँकी जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिए । ११ जना यात्रु सवार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि उपक्षेत्रीय अस्पतालमा ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा चालक विष्णु विक, सिरहाका करन कुमार यादव , आर्दर्श गाँउपालीका २ का विनोद बोहरा, विष्णु बोहरा, टेकबहादुर बोहरा र नरेश बोहरा रहेका छन । दुर्घटनामा परी घाइते भएका सात जनामध्ये गम्भीर तीनजनालाई धनगढी रेफर गरिएको छ । अन्य चारजनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेका प्रहरी बताएको छ