झापा,३ चैत्र।
झापामा सञ्चालित अधिकांश ठूला होटलमा किरा सहितको खाद्य सामग्री बिक्री बितरण हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर, जिल्ला प्रशासन कार्यालय झापासहित होटल व्यवसायी संघ, नगरपालिकाका पदाधिकारीले गरेको अनुगमनका क्रममा होटलहरुले लापरवाही गर्ने गरेको पाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्याल सहितको टोलीले अनुगमन गर्दा कतिपय होटलका किचनमा तयारी अवस्थामा विक्रीका लागि राखिएको खानेकुरामा ज्यूँदा र मरेका साङ्ला फेला परेको थियो । विक्रीका लागि राखिएको काँचो मासु पनि सड्न लागेको र साङ्ला कुदिरहेको पाइएपछि तत्काल नष्ट गरिएको छ ।
बिर्तामोडमा सञ्चालित रेडमग होटलमा अनुगमन गर्दा किरा परेको खाद्य सामग्री विक्री बितरण गर्ने गरेको पाइएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालले बिर्तामोडमा सञ्चालित होटल सरसफाइ र खाद्य स्वच्छतामा चुकेको बताउनुभएको छ । उहाँले उपभोक्तालाई होटलमा टाँसिएको स्टिकर हेरेर मात्र खानेकुरा खान आग्रह समेत गरे । ।
मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तु बिर्तामोडमा सञ्चालित होटलमा खुलेआम विक्री बितरण भइरहदा पनि होटल व्यवसायी संघ झापाकी सदस्य इन्दिर श्रेष्ठले भने होटल व्यवसायीको बचावट गरेका । उनले होटल व्यवसायीलाई तत्काल कारवाही गरि हाल्न नमिल्ने बताउँदै फेरि अनुगमन आउँदा उनीहरु सच्चिने वताए ।
यस अघि गत वुधवार गरिएको अनुगमनका क्रममा बिर्तामोडमा नै सञ्चालित गाउँले होटलले पनि किरा परेको खाद्य सामग्री विक्री गर्ने गरेको पाइएको थियो । त्यस्ता सबै होटललाई अनुगमन टोलीले खाद्य सामग्री नवेच्न र सरसफाइमा ध्यान दिन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुङ्गानाले वताए ।
अनुगमन टोलीले खाद्य स्वच्छताको आधारमा होटल तथा रेस्टुरेन्ट स्तरीकरण मूल्याङ्कन सूचकाङ्क नै जारी गरेर अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरेर चार तहमा वर्गाीकरण गरी स्टिकरहरु टाँसेको छ । पुनः अनुगमन गर्दा सुधार नभए कारवाही गरिने बताइएको छ ।