भोजपुर, २६ माघ ।
धेरैलाई विस्वास नलाग्न सक्छ, विना उर्जा पानी एक सय मिटर भन्दा माथी चढ्छ भन्दा । तर यो सत्य सावित भएको छ । भोजपुर जिल्लाको भोजपुर नगरपालिकाको सुन्तलेमा विना उर्जा मुहान भन्दा एक सय २० मिटर तल मुहानबाट उकालो पानी निकालिएको छ । जसको शुक्रवार सफल परिक्षण समेत भएको छ । इन्जिनियर एक राज भट्टराईले आफैले उपकरण तयारी गरि पानीलाई लिफ्ट गरेर एक सय मिटर माथी वस्ती सम्म निकालेका हुन् । जसमा उनले विद्युत सोलार तथा कुनै पनि इन्धन प्रयोग गरेका छैनन् ।
पानीलाई मुहान रहेको स्थानबाट २० मिटर तल खसाएर त्यसलाई पुनः एक सय २० मिटर माथी निकालिएको छ। सुन्तले वजारमा रहेको पानीको अभावलाई कम गर्न इन्जिनियर एकराज भट्टराईले हाइड्रोलिक ¥याम्पको प्रयोग गरि पानीलाई वस्ती सम्म निकालेका हुन्। उनले करिव ४ लाखको लागतमा आफैले आवश्यक उपकरणहरु तयारी गरि वस्ती भन्दा धेरै तल रहेको पानी वस्ती सम्म निकाल्न सफल भएको वताए । वर्षौ सम्म टिक्ने सो प्रविधिबाट एक मिनेटमा साढे दुई लिटर पानी खस्ने उनको भनाई छ ।
उनले भने ‘मैले करिव ६ वर्षको मेहनत पछि यो प्रविधि विकास गर्न सफल भएको हुँ । यसमा कुनै पनि उर्जा जडान गरिएको छैन् । यो प्रविधि आर्थिक हिसावले पहाडी जिल्लाको लागि निकै उपयोगी छ ।’ उनको अनुसार हावा र पानीको कम्वीनेसनलाई मिलाएर तयार यो प्रविधिमा कुनै पनि उपकरणमा समस्या हुदैन । तर सामान्य रबरबाट वनेका वासरहरुमा भने केहि वर्ष पछि समस्या आए त्यो स्थानियले आफै पनि फेर्न सक्ने उनको भनाई छ ।
उनले तयार गरेको प्राविधिको शुक्रवार जिल्लाका सरोकारवाला निकायले पनि अवलोकन गरेका छन् । अवलोकनका सहभागीहरुले प्राविधि निकै उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । यसै क्रममा भोजपुर नगरपालिकामा मेयर कैलास कुमार आलेले प्राविधिले अति नै राम्रो ढंगबाट काम गरेको आफ्नै आँखाले देखेकोले आगामी दिनमा नगरपालिकाले वजेट विनियोजन गरेर यस्ता प्रविधिको अन्य ठाउँमा पनि विस्तार गर्ने खवरसंसारलाई वताए ।
उनले भने ‘जुन आज मैले यो प्रविधि हेरे निकै राम्रो लाग्यो र सफल रुपमा पानी लिफ्ट गरिरहेको पनि देखे, हाम्रो भोजपुरमा पनि धेरै मानिसहरु पानीको कारण वसाईसराई नै गरिरहेका छन् । त्यस्ता खालका समस्याको समाधानको लागि आगमी दिनमा भोजपुर नगरपालिकासंगै अन्य ठाउमा पनि विस्तार गर्न पहल गर्छु ।’
लिफ्ट गरेर वस्ती भन्दा तलबाट पानी घर छेउमा नै खस्न थालेपछि स्थानिय पनि हषित भएका छन् । भोजपुरको सुन्तलेलाई पर्यटकिय क्षेत्रको रुपमा पनि लिने गरिन्छ । सो क्षेत्रमा सयौको संख्यामा पर्यटकहरु जाने गरेका छन् ।