तमोर कोरिडोर निर्माणको काम २५ प्रतिसत सम्पन्न


धनकुटा । गौरवको आयोजनाका रूपमा हेरिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत तमोर कोरिडोर निर्माणको काम द्रुत रूपमा अघि बढिरहेको छ । पूर्वी पहाडलाई तराई तथा काठमाडौंसँग छोटो दूरीबाट जोड्ने उक्त सडकको २५ प्रतिशत निर्माण कार्य सकिएको छ ।

पाँचथरको गणेश चोकदेखि धनकुटाको मूलघाट हुँदै सुनसरीको चतारासम्म दुई लेनको उक्त सडक अघिल्लो वर्ष फागुनदेखि ट्रयाक खोल्नेसहित निर्माण थालिएको हो ।

सुरुमा ७ अर्ब रूपैयाँको अनुमानित गरिएको सडक पहिलो चरणमा पाँच प्याकेजका लागि ४ अर्ब ९२ करोड र बाँकी दुई प्याकेजका लागि १ अर्ब ४४ करोडमा ठेक्का स्वीकृत भई गत वर्षदेखि थालिएको सडकको एक चौथाई निर्माण कार्य पूरा भएको छ ।

कोसी कोरिडोर सडक विस्तार योजना २ को सात वटा प्याकेजको काम द्रुत रूपमा अघि बढिरहेको मध्यपहाडी राजमार्ग योजना कार्यालय फिदीमका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए । खतिवडाको अगुवाइमा प्राविधिक टोली मूलघाट साइड अफिसमार्फत चतरासम्मको निर्माण कार्यमा परिचालित छ । सात प्याकेजमध्ये पाँच गत सालको फागुन र बाँकी दुई प्याकेजको निर्माण कार्य गत जेठदेखि थालिएको हो ।

‘३० महिना अवधिमा निर्माण गरिसक्नुपर्ने उक्त सडकको २५ प्रतिशत काम सकिएको छ’, इन्जिनियर खतिवडाले भने, ‘हालसम्म सेडुअलमै काम भइरहेकाले निर्धारित अवधिमा काम सकिनेमा ढुक्क छौं ।’ यो सडक निर्माण भएपछि ताप्लेजुङ, पाँचथर र धनकुटाबासी सबैभन्दा लाभान्वित हुने भएका छन् ।

यसमध्ये पनि ताप्लेजुङ र पाँचथर जिल्लाबाट मूलघाट १ सय १२ किलोमिटर मात्र दूरी पर्ने भएकाले ती जिल्लाबासी अझ लाभान्वित हुने छन् । मेची तथा कोसी राजमार्ग हुँदै धरान तथा धनकुटा पुग्दा तमोर कोरिडोरको सडकभन्दा दोब्बर गुना लामो यात्रा गर्नुपर्ने बाध्यता अब टर्ने भएको छ ।

१ सय ४८ किमि लम्बाइ र १० मिटर चौडा सडकमध्ये ७ मिटर ग्रावेल हुने छ । सडकको दुवै छेउमा नाली र बाँकी भाग पहिलो चरणमा ग्रावेल गरिने जनाइएको छ । ३० महिनाको अवधिमा काम सक्नुपर्ने गरी रौता सन्तोषी जेभीले सडक निर्माणको जिम्मा लिएको छ ।

यति बेला तमोर कोरिडोरको सडक र नयाँ ट्रयाक खोल्ने काम जारी रहेको छ । प्रस्तावित तमोर जलाशययुक्त आयोजनालाई ख्याल गरेर डुवाउ नहुने गरी सडक निर्माण गरिएको इन्जिनियर खतिवडाको भनाइ छ । जलाशययुक्त आयोजनाले डुबाउन सक्ने उचाइ ३ सय ५० मिटर उचाइमा तमोर कोरिडोरको निर्माण भइरहेको छ ।

यस्तै चतारादेखि लेगुवा जोडिने कोसी कोरिडोरको सडक भने ३ सय ५० मिटर उचाइमा रहेको छ । मध्यपहाडी लोकमार्गसँग पाँचथरको माझीटारबाट तमोर कोरिडोर प्रत्यक्ष जोडिने छ । तमोर कोरिडोर भएर धनकुटाको मूलघाटमा पुनस् कोसी राजमार्ग हुँदै हिले खण्डमा आएर मध्यपहाडी लोकमार्गसँग जोडिएको छ । पाँचथरको गणेश चोकमा यो सडकले मध्यपहाडी लोकमार्गलाई भेट गर्नेछ । मध्यपहाडी लोकमार्ग घुमाउरो छ । तर, तमोर कोरिडोर चतारादेखि मूलघाट र मेची राजमार्गसँगै गणेशचोकमा जोडिनेछ । तमोर कोरिडोरले खासगरी पहाडी जिल्लाबासीलाई प्रदेश राजधानी जोड्न र शिक्षा स्वास्थ्य तथा बजार जस्ता अत्यावश्यक पक्षसँग सीधा पहुँच दिलाउने पूर्व सांसद हेमराज भण्डारीको भनाइ छ ।

कोरिडोरको खाका तयार गर्दादेखि योजनाको काम प्रत्यक्ष निगरानी गरिरहेको भण्डारले सडक निर्माणले पहाडमा बसाइँसराइको चाप घट्न सक्ने बताए । सडक निर्माणसँगै स्थानीयबासी समेत उत्साही छन् ।

यो सडक निर्माण भएपछि काठमाडौंसम्म ४ सय ४० किमि मात्र दूरी रहनेछ । निर्माण भइरहेको स्थान पाँचथरदेखि धनकुटाको मूलघाटसम्म सामान्य यातायात साधन समेत सञ्चालन हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार