गाउँमा उत्पादित चिया शहरमा बिक्री


लमजुङ, ३ माघ । काठमाडौँकोे बसाई छोडी गाउँ फर्केका लमजुङका एक युवाले व्यावसायिक चिया खेती गरेका छन् ।
दोर्दी गाउँपालिका–८ दुवारगाउँका ४४ बर्षीय ओमलाल गुरुङले गाउँमा रू १ करोड २५ लाखको लगानीमा चिया खेती र चिया प्रशोधन केन्द्र स्थापना गरेर चिया उत्पादन गर्न थाल्नुभएको हो । गाउँमा उत्पादित चिया लमजुङदेखि काठमाडौँसम्म विक्री हुँदै आएको छ । चियाको माग बढेकाले आफूले बेंसीसहरको झिङ्गे खोला नजिकै मासिक रू १५ हजारमा सटर भाडामा लिएर चियाको होलसेल विक्री केन्द्र थापना गरेको उनले जानकारी दिए।
उक्त विक्री केन्द्र बुधबार उद्घाटनका क्रममा बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नयाँ व्यवयासलाई नगरपालिकाले स्वागत गर्ने र व्यवसाय प्रवद्र्धनमा जोड दिइने बताए। गाउँ फर्केर व्यवसायमा लागेका युवालाई स्थानीयतहबाट आवश्यक सहयोग उपलब्ध गराइने पनि उनलेप्रतिवद्धता व्यक्त गरे।
विसं २०६७ मा २० रोपनी क्षेत्रफलमा २० हजार चियाका विरुवा लगाई व्यावसायिक चिया खेती सुरु गर्नुभएका गुरुङले हाल १ सय ५० रोपनीमा चिया खेती गर्नुभएको छ । शुरु शुरुमा हातैले चिया प्रशोधन गरेँ । अहिले रू १२ लाख लगानी गरेर चिया प्रशोधन गर्ने उपकरण ल्याएर चिया प्रशोधन गर्न थालेको यसबाट नियमित पाँच जनालले रोजगारी पाएको उनले बताए ।
सुरुमा इलामबाट चियाको विरुवा ल्याउनुभएका गुरुङले चियाको विरुवासमेत उत्पादन गरी विक्री वितरणसमेत गर्दै आउनुभएको छ । बजारमा आफ्नो क्रिष्टा टी प्रालिको नामबाट ‘लमजुङ टी’ उपलब्ध हुन थालेको जानकारी दिँदै उनले महिनामा कम्तीमा एकसय किलो चिया उत्पादन हुँदै आएको र यसबाट कम्तीमा रू एक लाख आम्दानी हुन्छ भने ।
गाउँमा चिया खेती सुरु भएपछि यहाँको बजारमा अन्य कम्पनीको चिया खपत हुन रोकिएको र काठमाडौँका साथै अन्य जिल्लामा पनि उक्त चियाको माग बढेको स्थानीयबासीले बताएका छन् । गुरुङले गाउँवाट चियाबारी जाने कच्ची मोटर बाटो निर्माण गर्नाका साथै एकल लगानीमा गाउँमा एक फूटबल खेलमैदान समेत निर्माण गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार