
युवराज विष्ट
भोजपुर, १८ असार ।
बालश्रम अन्त्य गर्दै बालअधिकार सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको बालश्रममुक्त गाउँपालिका घोषणा अभियान अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गरेबापत पौवादुङमा गाउँपालिकालाई राष्ट्रियस्तरमै सम्मान गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा विहिबार आयोजित विशेष समारोहमार्फत मन्त्री रामजी यादवको गाउँपालिकालाई सम्मान प्रदान गर्नु भएको हो ।
मन्त्रालयले देशभरिका ७५३ स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दा पौवादुङमा गाउँपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। प्राप्त नतिजाअनुसार गाउँपालिकाले देशभरिका स्थानीय तहमध्ये नवौं स्थान, गाउँपालिकाहरूमध्ये चौथो स्थान, कोशी प्रदेशका स्थानीय तहमध्ये दोस्रो स्थान तथा प्रदेशभित्रका गाउँपालिकामध्ये प्रथम स्थान हासिल गर्न सफल भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । संघ सरकारले गरेको सम्मानलाई सम्पूर्ण गाउँपालिकावासीको साझा उपलब्धिको रूपमा रहेको उहाँको भनाइ छ । बालश्रम अन्त्य गर्ने अभियानलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा पनि बालअधिकार संरक्षणका कार्यक्रमहरूलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
“यो सम्मान कुनै एक व्यक्तिको मात्र होइन”अध्यक्ष राईले भन्नुभयो,“ सम्पूर्ण समुदाय, कर्मचारी, जनप्रतिनिधि तथा सहयोगी संस्थाहरूको संयुक्त प्रयासको परिणाम हो।” पौवादुङमा गाउँपालिकालाई अझ समृद्ध, सक्षम र बालमैत्री नमूना स्थानीय तहको रूपमा विकास गर्ने साझा यात्रामा सम्पूर्ण सरोकारवालाहरूको सक्रिय सहभागिता रहने अध्यक्ष राईले विश्वास व्यक्त गर्नुभयो।

बालश्रम न्यूनीकरण, विद्यालय भर्ना अभियान, अभिभावक सचेतना कार्यक्रम, जोखिममा रहेका बालबालिकाको पहिचान तथा पुनस्र्थापना र बालमैत्री वातावरण निर्माणका क्षेत्रमा गाउँपालिकाले प्रभावकारी काम गर्दै आएको छ। विशेष गरी बालबालिकालाई श्रमबाट शिक्षा तर्फ आकर्षित गर्न विभिन्न सचेतनामूलक अभियान, सामुदायिक सहकार्य र स्थानीय सरोकारवालासँगको समन्वयले बालश्रममुक्त बनेको हो ।
नेपालमा बालश्रम अझै पनि चुनौतीका रूपमा रहेको सन्दर्भमा पौवादुङमा गाउँपालिकाको यो उपलब्धि उदाहरणीय मानिएको छ। बालश्रम अन्त्यका लागि शिक्षा, जनचेतना, आर्थिक सशक्तीकरण र कानुनी कार्यान्वयनलाई सँगसँगै अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याइँदै आएको छ।






















