
भोजपुर, २९ फागुन ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा रामप्रसादराई गाउँपालिका भोजपुर जिल्लामै प्रथम बनेको छ ।
आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार रामप्रसादराई गाउँपालिकाले ७५.६८ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामा पहिलो स्थान हासिल गरेको हो । प्राप्त अंकका आधारमा उक्त गाउँपालिका कोशी प्रदेशमा तेस्रो स्थानमा समेत पर्न सफल भएको जनाइएको छ ।
जिल्लाका अन्य स्थानीय तहहरूमध्ये हतुवागढी गाउँपालिका ७३.२७ अंक सहित दोस्रो र भोजपुर नगरपालिका ७२.१८ अंक सहित तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै, पौवादुङमा गाउँपालिका ७०.८७ अंक सहित चौथो तथा आमचोक गाउँपालिका ६६.५३ अंक सहित पाँचौँ स्थानमा रहेका छन् ।
मूल्याङ्कन अनुसार षडानन्द नगरपालिका ६१.२३ अंक सहित छैटौँ, टेम्केमैयुङ गाउँपालिका ६१.२१ अंक सहित सातौँ, अरुण गाउँपालिका ४९.०६ अंक सहित आठौँ तथा साल्पासिलिछो गाउँपालिका ४२.४४ अंक सहित नवौँ स्थानमा परेका छन् ।
आयोगले स्थानीय तहको वित्तीय व्यवस्थापन, सेवा प्रवाह, योजना कार्यान्वयन, पारदर्शिता तथा सुशासन लगायतका सूचकका आधारमा मूल्याङ्कन गर्दै नतिजा सार्वजनिक गर्ने गरेको छ ।

















