
युवराज विष्ट
भोजपुर, ९ माघ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा देखिएको खस्कँदो अवस्थालाई सुधार गर्दै आधारभूत तहका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालनमा ल्याइएको छ । सन् २०३० सम्म गाउँपालिकाभित्र शैक्षिक गरिबीलाई पूर्ण रूपमा अन्त्य गर्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम कार्यान्वयनमा आएको हो ।
पौवादुङमा गाउँपालिका र युनाइटेड वल्र्ड स्कुल नेपालबीचको साझेदारीमा गाउँपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम कार्यान्वयन भइरहेको छ । कार्यक्रमले विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको भाषिक क्षमता र गणितीय ज्ञान अभिवृद्धि गर्दै समग्र शैक्षिक गुणस्तर सुधारमा केन्द्रित भएर काम गरिरहेको युनाइटेड वल्र्ड स्कुल नेपाल, कोशी प्रदेशका शिक्षा संयोजक विक्रम भट्टराईले जानकारी दिनुभयो ।
“पौवादुङमा गाउँपालिकामा‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ कार्यान्वयन गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “प्राथमिकतामा परेका विद्यालयमा लक्षित कार्यक्रममार्फत शैक्षिक सुधारका लागि काम भइरहेको छ ।”
प्रारम्भिक सर्वेक्षणका क्रममा १० वटा विद्यालयका कक्षा १, २ र ३ का विद्यार्थीमा भाषिक ज्ञान ४६ प्रतिशत र गणितीय ज्ञान ८ प्रतिशत मात्र रहेको पाइएको भट्टराईले जानकारी दिनुभयो । गणित विषयमा विद्यार्थी अत्यन्त कमजोर देखिएकाले यस क्षेत्रमा थप केन्द्रित कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । छनोटमा परेका विद्यालयमा आगामी पाँच वर्षसम्म निरन्तर शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
उहाँका अनुसार हाल छनोटमा परेका विद्यालयमा बालबालिकाको सिकाइ क्षमताको नियमित मूल्याङ्कन गर्दै शिक्षकको क्षमता अभिवृद्धि, सिकाइ सामग्रीको प्रयोग, विद्यार्थी केन्द्रित शिक्षण पद्धति र अभिभावकसँगको समन्वयलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको छ ।
प्रारम्भिक सर्वेक्षणबाट प्राप्त तथ्याङ्कका आधारमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, गाउँपालिका प्रतिनिधि र कार्यक्रम कार्यान्वयन गर्ने संस्थाबीच प्रगति समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी छलफल गरिएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।
“सर्वेक्षणका क्रममा पहिचान भएका कमजोरी र चुनौतीलाई मध्यनजर गर्दै सुधारका कार्यक्रमलाई योजनाबद्धढङ्गले अघि बढाइनेछ,” उहाँले भन्नुभयो, “विद्यालय, समुदाय र स्थानीय सरकारबीचको सहकार्यलाई मजबुत बनाउँदै शैक्षिक गुणस्तर सुधारमा जोड दिने हाम्रो लक्ष्य छ ।”
पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले सामुदायिक विद्यालयको शैक्षिक सुधार गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्नुभयो । युनाइटेड वल्र्ड स्कुल नेपालसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उहाँले यस कार्यक्रमका लागि गाउँपालिकाले रु. ३५ लाख लागत साझेदारी गरेको बताउनुभयो ।
“सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्य सुरक्षित बनाउनु हाम्रो दायित्व हो,” अध्यक्ष राईले भन्नुभयो, “यो कार्यक्रममार्फत शैक्षिक समस्यालाई सूक्ष्म रूपमा पहिचान गरी सोही अनुसार सुधार रणनीति तय गरिनेछ । सन् २०३० सम्म शैक्षिक गरिबी शून्यमा झार्ने कार्यक्रमको स्पष्ट लक्ष्य छ ।”
सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक अवस्थाप्रति चासो व्यक्त गर्दै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँ शिक्षा समितिमार्फत नियमित अनुगमनलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्र रहेका सबै ३२ वटा सामुदायिक विद्यालयको हालको शैक्षिक अवस्थाको विवरण संकलन गरी आवश्यक सुधारका कार्यक्रमलाई क्रमिक रूपमा अघि बढाइनेछ ।
“भौतिक पूर्वाधार संरचनाको सुधारसँगै शैक्षिक गुणस्तर सुधारमा पनि ध्यान दिएका छाँै”उपाध्यक्ष राईले भन्नुभयो,“शिक्षण सिकाइ गुणस्तर, शिक्षकको सक्रियता र विद्यार्थीको वास्तविक सिकाइमा ध्यान दिन आवश्यक छ । यस कार्यक्रमले त्यसै दिशामा काम गरिरहेको छ ।”
भोजपुर जिल्लाका नौवटा स्थानीय तह मध्ये हाल‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ पौवादुङमा गाउँपालिका र षडानन्द नगरपालिकामा मात्र सञ्चालन भइरहेको छ । कार्यक्रमबाट प्राप्त उपलब्धि र सिकाइका आधारमा आगामी दिनमा अन्य स्थानीय तहमा पनि यस किसिमका कार्यक्रम विस्तार गर्न सकिने जनाइएको छ ।
स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र सहयोगी संस्थाबीचको सहकार्यमा सञ्चालन भइरहेको ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने मानेडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक टलक कार्कीले बताउनुभयो । शैक्षिक सुधारका लागि शिक्षकहरूले पनि आफूले गरिरहेको कामप्रति जवाफदेही बन्दै पेशागत इमान्दारितासहित अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।




















