भोजपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


भोजपुर, २ माघ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार जिल्ला अदालत भोजपुरमा क्रियाशील राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायको उपस्थितिमा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालले कार्यालयको उद्घाटन गर्दै स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रको सबल अभ्यासका रूपमा निर्वाचनलाई उल्लेख गर्दै आम मतदाताले ढुक्कसँग निर्वाचन प्रक्रियामा सहभागी हुन सक्ने वातावरण निर्माण गरिने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले सुरक्षा निकायबीच समन्वय गरेर सम्पूर्ण निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा व्यवस्था कायम गरिने स्पष्ट पार्नुभयो ।
त्यसैगरी जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचनका लागि आवश्यक आन्तरिक तयारीलाई मजबुत बनाइएको जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार भोजपुरबाट निर्वाचनमा कुल १ लाख २५ हजार ७ सय ६६ जना मतदाता सहभागी हुनेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार