
निरु पौडेल
सुनसरी, २ माघ ।
श्री रामानुज विशिष्टद्वैत धर्मशाला तथा श्री भु–बराह अन्नक्षेत्रको आयोजनामा आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म पवित्र बृहत् भु–बराह क्षेत्रको पुण्य भूमिमा श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ । श्री श्री श्री १००८ आवल ब्रह्मचारी श्रीदेवराजाचार्य स्वामीजीको सङ्कल्पबाट श्रीमद् भागवत सप्ताह महापुराण सञ्चालन गरिन लागेको हो ।
उक्त धार्मिक अनुष्ठानको तयारी तीव्र रूपमा अघि बढाइएको बराह क्षेत्र, कौशिकी तटका अध्यक्ष दाताराम शर्मा भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार महापुराणमा २५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म दान गर्ने भक्तजनलाई मूलकर्ताको रूपमा पुराण पाठमा सहभागी हुने अवसर प्रदान गरिने छ ।
श्रीमद् भागवत महापुराण सफलताका लागि दाताहरूबाट सहयोग आउन थालिसकेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले इच्छुक भक्तजनलाई आ–आफ्नो क्षमता अनुसार सहयोग गर्न अनुरोध गर्नुभयो ।
महापुराण अवधिभर सहभागी भक्तजनका लागि दैनिक करिब एक हजार जनासम्मलाई भोजन तथा आवासको व्यवस्था गरिएको जानकारी दिइएको छ । सबै भक्तजनका कुल–पितृहरूको मोक्षको कामनासहित उक्त धार्मिक अनुष्ठान आयोजना गरिएको अध्यक्ष भण्डारीको भनाइ छ ।
आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत सदियौँदेखि सनातन हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहँदै आएको बराह तीर्थको महिमा विभिन्न पुराण तथा धार्मिक कथाहरूमा उल्लेख हुँदै आएको जानकारी गराएको छ । बराहक्षेत्रप्रति भक्तजनको श्रद्धा तथा विश्वास दिनानुदिन बढ्दै जाँदा हरेक वर्ष तीर्थालुहरूको संख्या समेत वृद्धि हुँदै गएको आयोजकको भनाइ छ ।
भक्तजनको सेवा तथा सुविधालाई ध्यानमा राख्दै श्री श्री श्री १००८ आवल ब्रह्मचारी श्रीदेवराजाचार्य मठ धनगढी स्वामीको सङ्कल्पबाट वि।सं। २०५९ साल कार्तिक शुक्ल ठूली एकादशीका दिन श्री रामानुज विशिष्टद्वैत धर्मशाला तथा श्री भु–बराह अन्नक्षेत्र स्थापना गरिएको थियो । स्वैच्छिक दान तथा मुठीदानमार्फत सङ्कलित स्रोतका आधारमा हालसम्म करिब ३ करोड रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोगबाट भवन निर्माणसहित सेवा सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ ।
बृहत् बराहक्षेत्र विकास समितिको परिसरमा अवस्थित उक्त संस्थाले हरेक मेला तथा पर्वका अवसरमा आउने तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था गर्दै आएको छ । स्थापना कालदेखि हालसम्म स्वदेश तथा विदेशबाट भक्तजनको निरन्तर सहयोग प्राप्त हुँदै आएको आयोजकको भनाइ छ ।




















