पौवादुङमामा ‘पञ्चकन्या स्मृति पार्क’ उद्घाटन : भोजपुरका पाँच क्रान्ति योद्धाको शालिक निर्माण


युवराज विष्ट
भोजपुर, १ माघ ।
भोजपुरको ऐतिहासिक, सामाजिक र राजनीतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित पौवादुङमा गाउँपालिका–स्थित च्याङ्ग्रे पोखरी परिसरमा ‘पञ्चकन्या स्मृति उद्यान (पार्क)’ को औपचारिक उद्घाटन गरिएको छ। यो उद्यान भोजपुरलाई इतिहास, समाज सुधार र राजनीतिक आन्दोलनमार्फत राष्ट्रिय तहमा चिनाउन योगदान पु¥याएका सामाजिक अभियन्ता तथा क्रान्ति योद्धाहरूको सम्मान स्वरूप निर्माण गरिएको हो।
उद्यानमा भोजपुर जिल्लाको पहिचान निर्माणमा ऐतिहासिक भूमिका खेलेका बालागुरु षडानन्द अधिकारी, नारी चेतना र सामाजिक सुधार आन्दोलनकी अगुवा योगमाया न्यौपाने, वि.सं. २००७ सालको राजनीतिक परिवर्तनमा अग्रपंक्तिमा रहेर योगदान पु¥याएका क्रान्ति योद्धा रामप्रसाद राई, नारदमुनि थुलुङ र दिवान सिंह राईका शालिकहरू राखिएको छ ।
साथै, वि.सं. २००७ सालमा भोजपुरबाट पहिलो पटक रेडियो प्रसारण भएको इतिहास उजागर गर्न रेडियोको प्रतिमा पनि राखिएको छ। यी शालिकहरूले भोजपुरको सामाजिक जागरण, चेतना र राजनीतिक परिवर्तनको इतिहासलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ।
इतिहासलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी प्रत्यक्ष अनुभूति गर्न सकिने जीवित सम्पदाका रूपमा विकास गर्ने लक्ष्यका साथ सबै शालिकहरू दक्ष कालीगढमार्फत ढुङ्गाबाट बनाइएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । आधुनिक प्रविधिको प्रयोग गर्दै ढुङ्गाले कुदिएका प्रत्येक शालिकमा क्यूआर कोडको व्यवस्था गरिएको छ ।


अध्यक्ष राईका अनुसार आधुनिक प्रविधिको प्रयोगमार्फत उद्यान अवलोकन गर्न आउने व्यक्तिले अभियन्ता तथा क्रान्ति योद्धाहरूको योगदानबारे सहज रूपमा जानकारी लिन सकून भन्नको लागि शालिकमा क्यूआर कोडको व्यवस्था गरिएको हो । उक्त क्यूआर कोड स्क्यान गर्दा सम्बन्धित व्यक्तिको जीवनी, योगदान र ऐतिहासिक पृष्ठभूमिसम्बन्धी विवरण उपलब्ध हुने व्यवस्था गरिएको छ ।
छोटो समयका लागि यहाँ आउने पर्यटकलाई यी व्याक्तित्वहरु जन्मिएका ठाउँमा पुगेर थप ज्ञान लिन सम्भव नहुने भएकाले प्रविधिको माध्यमले पौवादुङमाबाट नै आवश्यक जानकारी लिन सक्ने उहाँको भनाइ छ ।
“पञ्चकन्या स्मृति उद्यानलाई ऐतिहासिक र शैक्षिक पार्कका रूपमा विकास गर्ने हाम्रो दीर्घकालीन लक्ष्य हो,”अध्यक्ष राईले भन्नुभयो,“भोजपुरलाई चिनाउन महत्वपूर्ण योगदान पु¥याएका अभियन्ता तथा योद्धाहरूको स्मृतिलाई सम्मान गर्दै जिल्लाको गौरवपूर्ण इतिहास उजागर गर्न यो उद्यान निर्माण गरेका हौँ । यसले आगन्तुकसँगै, स्थानीय तथा भावी पुस्तामा इतिहासप्रतिको चासो र चेतना अभिवृद्धि गर्नेछ ।”

ढुङ्गामा कुदेर क्यूआरमार्फत आवश्यक जानकारी लिनसक्ने व्यवस्था देशमा गरिएको पहिलो र नौलो अभ्यास रहेको अध्यक्ष राईको दावी छ । गाउँपालिकाले निर्माण गर्ने पर्यटन पूर्वाधारहरु प्रविधिमैत्रीसँगै सूचनामूलक बनाउनमा पहल थालिएको उहाँको भनाइ छ । हाल निर्माण भएको स्मृति पार्क भोजपु–लेगुवा मध्य पहाडी राजमार्गबाट तीन किलोमिटर भित्र मात्र रहेकोले भोजपुरको इतिहासको विषयमा जानकारी लिन चाहनेहरुका लागि उत्तम र सहज स्थल बन्ने अध्यक्ष राईले बताउनुभयो ।

गाउँपालिकाले पर्यापर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत उद्यानमा छ वटा शालिक निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङ्गाबाट निर्मित एउटा शालिक निर्माणमा रु. १ लाख ४२ हजार ७ सय खर्च भएको छ भने सबै शालिक निर्माणका लागि कुल रु. ८ लाख ५६ हजार २ सय खर्च गरिएको छ । स्थानीय स्रोतसाधनको उपयोग गर्दै खर्च प्रभावकारी रूपमा व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।
उद्यानलाई आकर्षक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वृक्षरोपण, फलैँचा तथा विश्रामस्थल निर्माणलगायतका पूर्वाधार विकासका कामहरू निरन्तर रूपमा अगाडि बढाइरहेको गाउँपालिकाले जनाएको छ । स्थानीय तहले यस उद्यानलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै शैक्षिक अवलोकन स्थलका रूपमा समेत विकास गर्ने योजना बनाएको छ ।
स्थानीय इतिहास, स्मृति र पहिचानलाई एकै स्थानमा समेट्ने उद्देश्यले निर्माण गरिएको पञ्चकन्या स्मृति उद्यानले भोजपुरको गौरवपूर्ण अतीतलाई वर्तमान र भविष्यसँग जोड्ने सेतुको भूमिका खेल्ने स्थानीय जानकारहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार