
युवराज विष्ट
भोजपुर, २९ पुस ।
महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका महिलालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी पाँच दिने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै महिलाको आयआर्जन बढाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो ।
परम्परागत कृषि प्रणालीलाई व्यावसायिक र आधुनिक ढाँचामा रूपान्तरण गर्ने उद्देश्यले तालिम केन्द्रित गरिएको आयोजकले जनाएको छ । तालिममा सहभागी महिलालाई मौसमअनुसार उपयुक्त तरकारी छनोट, उन्नत खेती प्रविधि, प्लास्टिक टनेल निर्माण तथा टनेलभित्र तरकारी उत्पादन, जैविक मल तथा जैविक विषादी बनाउने तरिका, बीउ–बीजनको व्याड तयारी, सिँचाइ व्यवस्थापन तथा रोग–किरा नियन्त्रणसम्बन्धी व्यवहारिक सीप प्रदान गरिएको छ ।
वडा अध्यक्ष नरबहादुर राईका अनुसार महिलालाई सीपमूलक तालिममार्फत उद्यमसँग जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । उहाँले तालिममा सहभागी २५ जना महिलालाई आवश्यक बीउ–बीजनसँगै ७५ प्रतिशत अनुदानमा एक–एक थान प्लास्टिक टनेल वितरण गरिएको जानकारी दिनुभयो ।
“महिलालाई कृषि उद्यममा जोड्ने उद्देश्यले व्यावसायिक तरकारी खेती तालिम दिएका हौँ,” वडा अध्यक्ष राईले भन्नुभयो, “तालिमपछि महिलाले आफ्नै खेतबारीमा व्यावसायिक तरकारी खेती गरी नियमित आम्दानी लिन सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।”
तालिममा सहभागी महिलाले सिकेका सीप व्यवहारमा उतार्दै सामूहिक तथा व्यक्तिगत रूपमा व्यावसायिक तरकारी खेती गर्ने बताएका छन् । यसबाट बाहिरबाट आयात हुने तरकारीमा निर्भरता घट्नुका साथै स्थानीय बजारमा ताजा र गुणस्तरीय तरकारीको आपूर्ति बढ्ने उनीहरुको भनाइ छ । सहभागी महिलाहरूले आगामी दिनमा उत्पादन भएका तरकारीको बजारीकरण, निरन्तर प्राविधिक सहयोग तथा थप अनुदान कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
यस्ता सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरणसँगै गाउँको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । टेम्केमैयुङ गाउँपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो ।




















