पौवादुङमाद्धारा ६८ जना किसानलाई कृषि औजार वितरण


भोजपुर, १७ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषकलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा रु.२८ लाख बराबरको कृषि सामग्री वितरण गरेको हो ।

किसानको मागको आधारमा ४२ वटा मिनिटिलर र २६ वटा च्याप कटर(घाँस काट्ने) मेसिन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाले यसअघि वितरण गरेको गाईपालन कार्यक्रममा लागेका किसानलाई लक्षि गरेर च्याप कटर वितरण गरिएको उहाँको भनाइ छ ।
कृषिजन्य वस्तुको अधिकतम उत्पादन गरेर आत्मनिर्भरसँगै निर्यात गर्ने लक्ष्यका साथ गाउँपालिकाले कृषिमा लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । कृषकलाई आनुधिक खेती प्रणालीमा जोड्दै यन्त्रिकरण गर्ने उद्धेश्यले कृषि औजार वितरण गरेको उहाँको भनाइ छ ।
“गाउँपालिकाले व्यवस्थित खेती प्रणालीमा जोड दिएको छ” अध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकामा करोडौँको अकबरे खुर्सानी उत्पादन भईरहेको छ । किसानलाई कृषिबाट आत्मनिर्भर बनाउने उद्धेश्यका साथ लगानी गरिरहेका छौँ ।”

कृषकलाई आत्मनिर्भरसँगै रोजगारीमा जोड्ने योजनाका साथ गाउँपालिकाले कृषिमा लगानी गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । महिलाहरुलाई उद्यममा जोड्नको लागि महिला विकास वोर्डमार्फत आवश्यक प्रोत्साहनको कार्यक्रम गरिरहेको उहाँको भनाइ छ । वितरण गरिएका सामग्रीको सहिसदुपयोगका लागि नियमित अनुगमनमा जोड दिने उपाध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाबाट अनुदानमा कृषि सामग्री वितरणले कृषिमा लाग्न प्रोत्साहन मिलेको स्थानीयबासी राजकुमार दर्जीले बताउनुभयो । मिनिटिरले खनजोत गर्न छिटो हुनाले कृषिमा लाग्न सहजता भएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार