अरुणका सुख्खा क्षेत्रमा सिंचाई कुलो निर्माणले स्थानीयलाई सहज


युवराज विष्ट
भोजपुर, ९ असार ।
खेतीको समयमा पक्की सिंचाई कुलोबाट पानी आउन थालेपछि भोजपुरको अरुण गाउँपालिकाका किसानलाई सहजता भएको छ । यहाँ निर्माण थालिएका आठ वटा सिंचाई कुलो मध्ये चार वटा सम्पन्न भएर सञ्चालनमा आएपछि किसानलाई राहत मिलेको हो ।
अरुण गाउँपालिकामा साना सिंचाई कार्यक्रममार्फत स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, स्वीस सरकार र स्थानीयबासीको जनसहभागितामा सिंचाई कुलो निर्माणको काम भईरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीले जानकारी दिनुभयो ।
यहाँ स्वीस सरकारको ३० प्रतिशत, स्थानीय सरकार, प्रदेश, केन्द्र सरकारको २०-२० प्रतिशत र स्थानीयको १० प्रतिशत जनश्रमदानसहित साझेदारीमा सिंचाई कुलो निर्माणको काम भईरहेको प्रशासकीय अधिकृत जिमीले बताउनुभयो ।
“यहाँ लागत साझेदारीमा सिंचाइ कुलो निर्माण गरिरहेका छौँ”प्रशासकीय अधिकृत जिमीले भन्नुभयो,“सिंचाईको माध्यमबाट कृषिमा प्रोत्साहन गर्ने हाम्रो लक्ष्य छ । सिंचाईको राम्रो व्यवस्था भएपछि धान, मकैलगायत बालीसँगै किसानलाई तरकारी तथा फलफूल खेतीमा लाग्न सहयोग पुग्नेछ ।”
सवै सिंचाई कुलोमा गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी मात्र रु.७१ लाख रकम विनियोजन भएको उहाँको भनाइ छ । यहाँपक्की कुलो निर्माण भएपछि पानीको चुहावट हुने समस्याबाट किसानमुक्त हुने उहाँको भनाइ छ ।
अरुण गाउँपालिका ७ मा हंग्रायो खोला बाह्रसिंगे सिंचाई आयोजना सम्पन्न भएर सञ्चालन आएपछि किसानलाई राहत मिलेको वडाध्यक्ष कुमार थापाले बताउनुभयो । यसले यहाँ सुख्खा क्षेत्रका नागरिक प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ ।
“हंग्रायो खोला बाह्रसिंगे सिंचाई आयोजना सम्पन्न भएर सञ्चालनमा आएको छ”वडाध्यक्ष थापाले भन्नुभयो,“कुलो निर्माणले यहाँका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ । यो कुलोले सुख्खा क्षेत्रमा सुविधा पुग्ने छ ।” वडाले पनि सुख्खा क्षेत्रमा पानी सञ्चित पोखरी निर्माण गरेर सिंचाईको लागि कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।
हंग्रायो खोला बाह्रसिंगे सिंचाई आयोजना स्वीस सरकार, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार र स्थानीयको जनश्रमदानसहित रु.२६ लाख ७० हजार लागतमा निर्माण सम्पन्न भएको वरिष्ठ प्राविधि अधिकृत सुस्मिता लाप्चाले जानकारी दिनुभयो । यो सिंचाई आयोजनाले यहाँको एक सय रोपनी क्षेत्रमा सिंचाई सुविधा पुग्ने तथ्याङ्क रहेको उहाँको भनाइ छ ।
यो वर्ष नै वडा नं ४ मा रु. २७ लाख ८५ हजार लागतमा मामालुङ माथिल्लो कुलो, वडा नं ६ मा रु. १४ लाख पाँच हजार लागतान कुताङ कुलो र वडा नं २ मा ९१ लाख १९ हजार लागतमा ज्यामिरे कुलो निर्माण सम्पन्न भएको उहाँको भनाइ छ ।
यहाँ प्रशस्त मात्रामा खेतीयोग्य जमिन भएपनि सिंचाई अभावमा समस्या भएपछि सुख्खा ग्रस्थ क्षेत्रमा सिंचाइ कुलो निर्माणको काम अघि बढाइएको अरुण गाउँपालिका अध्यक्ष शालिराम खत्रीले जानकारी दिनुभयो । सिंचाई व्यवस्थासँगै किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष खत्रीको भनाइ छ । आफ्नो कार्यकालमा १६ वटा सिंचाई कुलो निर्माण भएको अध्यक्ष खत्रीले बताउनुभयो । बाँझिएका खेतबारी प्रयोगमा ल्याउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
“अरुण गाउँपालिकामा धेरै खेतीयोग्य भूमि छन्”अध्यक्ष खत्रीले भन्नुभयो,“प्रयाप्त सिंचाई सुविधा नहुँदा किसानहरुलाई समस्या छ । यहाँका सुख्खा क्षेत्रमा सिंचाइ सुविधा विस्तारको लागि काम गरिरहेका छौँ । सिंचाईको सुविधा विस्तारपछि यहाँका बाँझो जमिनहरु प्रयोगमा आउने अपेक्षा लिएका छौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार