
भोजपुर, ७ असार ।
भोजपुरमा मुन्दुम पदमार्गको प्रवद्र्धनको लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद तथा दौडको मध्यमबाट पदमार्गको प्रचार प्रसारमा टेवा पु¥याउने लक्ष्यले रेसको आयोजना गरिएको हो ।
पर्यटकीय स्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमना तावाभञ्याङ र पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्कहुँदै चखेवासम्म २२ किलोमिटर दुरीमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगितामा समुह तर्फ सिलिचोङ समुह प्रथम, टेम्के समुह द्धितिय र मैयुङ समुह तृतिय बनेको आयोजक रिमाचुङ, एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो ।
त्यस्तै एकल तर्फ निर्धारित दुरी एक घण्टा ४६ मिनेट ५७ सेकेन्डमा पुरा गर्दै विसाल राई, प्रथम, निर्धारित दुरी एक घण्टा ४८ मिनेट ३६ सेकेन्डमा पुरा गर्दै सरोज लिम्बु, दितिय र दिपक राई तृतिय बनेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
महिला एकल तर्फ निर्धातिर दुरी दुई घण्टा २२ मिनेट ४३ सेकेन्डमा पुरा गर्दै दिर्पा बस्नेत प्रथम कृष्मा राई दितिय र जुलिन राई तृतिय बन्नु भएको छ ।
प्रतियोगितामा समुह तर्फ प्रथम हुनेले प्रमाण पत्रको साथमा नगद रुं ४० हजार, दितिय हुनेले नगद रु. ३० हजार र तृतिय हुने नगद रु. २० हजार पाएका छन् भने एकल तर्फ प्रथम,दितिय र तृतिय हुनेले क्रमशः नगद रु. १५ हजार, दश हजार र पाँच हजार पाएको आयोजकले जनाएको छ ।

पदमार्गको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको रु. पाँच लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जनकारी दिनुभयो । गाउँपालिकाले कृषि र पर्यटनलाई जोड्दै यहाँको प्रचार प्रसार गर्ने लक्ष्यले वर्षेनी मुन्दुम ट्रेल रेसको आयोजना गर्दै आएको उपाध्यक्ष राईले बताउनुभयो ।
मुन्दुम पदमार्गको प्रचार प्रसारसँगै यहाँको विकासको लागि जोड दिइएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । मुन्दुम पदमार्ग नेपाल सरकारको एक सय गन्तव्यमा सूचीकृत मार्ग रहेकोले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर विकास तथा विस्तार भईरहेको उहाँको भनाइ छ ।
मैयुङ क्षेत्रमा पर्ने पर्यटकीय स्थलहरुको नामलाई समेटर त्यसको प्रचार गर्ने लक्ष्यले समूहहरुको नामकरण गरिएको हो । प्रतियोगितामा नौ समुहको सहभागिता रहेको थियो । एक समूहमा तीन महिला र तीन पुरुष गरी छ जना रहेका छन् ।
वर्षातको समयमा पनि यो पदमार्गको भ्रमणको लागि कुनै पनि समस्या छैन भन्ने सन्देश दिन यो समयमा पनि प्रतियोगिता सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।






















