श्रमदान मार्फत टेम्केमैयुङ-१ का स्थानीयले गरे सात किलोमिटर सडक मर्मत


भोजपुर, ८ साउन । टेम्केमैयुङ गाउँपालिका १ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब सात किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको सकृयतामा यहाँका स्थानीयले एक हप्ता श्रमदान गरेर सडक मर्मत गरेका हुन् । स्थानीय श्रमदान गरेर सेतिबगर रिमचिम तिम्मा पाङखाङ, खम्वुखा, सुम्लिखा, तीन भङ्गाले, बाघखोर सडक खण्ड मर्मत गरेका हुन् ।

बाटो विग्रिएर आवत जावतमा समस्या भएपछि श्रमदान अभियान सञ्चालन गरेर सडक मर्मतको काम गरिएको वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए । वडाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयले स्वतस्फूर्त रुपमा सहयोग गरिरहेको उनको भनाइ छ । ‘वडाले श्रमदान अभियान सञ्चालन गरेर सडकको मर्मत,सम्भार गरिरहेका छौँ’ वडाध्यक्ष राईले भने,‘प्रायः सम्पूर्ण सडक वर्षातले विग्रिएको अवस्था छ । जुन काम स्थानीय सरकारको बजेटले गर्न सम्भव छैन । स्थानीयलाई श्रमदानमा जोडेर सडक मर्मत गरिरहेका छौँ । यो अभियान जारी रहन्छ ।’

वडाले थालेको कामलाई साथ दिँदै देश विदेशमा रहेका यहाँका स्थानीयलेसमेत आवश्यक सहयोग गरेको वडासदस्य गणेश राईले बताए । साउन १ गतेबाट शुरु भएको श्रमदान अभियानमा एक सय ५५ जना बढी स्थानीयले श्रमदान गरेर सडक मर्मतमा योगदान गरेको उनको भनाइ छ ।‘आफ्नो ठाउँको विकासमा आफैँ जुट्न आवश्यक छ’उहाँले भने,‘ बाटो विग्रिएर जनजीवन प्रभावित भएपछि श्रमदान अभियान मार्फत सडक मर्मत गरेका हौँ । हामीले थालेको अभियानलाई साथ दिँदै देशविदेशमा रहेका यहाँका स्थानीयले पनि केहि सहयोग गर्नु भएको छ ।’

वडा कार्यालयले ल्याएको अवधारणा अनुसार स्थानीय युवाहरु श्रमदानमा सकृय रुपमा खटेको स्थानीयबासी लगन बहादुर राईले बताए । आफ्नो ठाउँको लागि स्थानीय नागरिकले खेलेको सानो भूमिकाले राज्यको ठुलो बजेट खर्च हुनबाट बच्ने उनको भनाइ छ ।‘वडाले ल्याएको अभियानमा हामी युवाहरु सकृय रुपमा जोडिएका छौँ’ उनले भने,‘आफ्नो ठाउँको विकास आफैँले गर्ने हो । हामीले अहिले सात किलोमिटर बढी सडक मर्मत गरेका छौँ । हामीले गरेको श्रमदानले राज्यको केहि बजेट जोगिएको छ ।’

श्रमदान मार्फत सडकको नाली कटाउने, खाल्डा खुल्डी पुर्ने, आसपासको झाँडी हटाउने लगाएतका काम भईरहेको स्थानीय युवा रामचन्द्र राईले बताए । सडकको मर्मतमा स्थानीय सकृय भएर लागेपछि अहिले आवत जावतसँगै खाद्यन्न ढुवानीमा सहजता थपिएको उनको भनाइ छ । ‘स्थानीय आफैँ मिलेर सडक मर्मत गरेपछि आवत जावतमा सहजता छ’उनले भने,‘विरामी हुँदा घरसम्म एम्वुलेन्स आउन सक्छ । आफनो ठाउँको विकासलाई दिगो बनाउन स्थानीय आफैँ अग्रसर हुन आवश्यक छ । श्रमदान मार्फत सडक मर्मत गरेपछि हामीलाई सहज भएको छ ।’

वर्षातको कारण वडा भित्रका विभिन्न ठाउँका सडकमा क्षति पुगेकोपछि सहज आवत जावतको लागि सडक मर्मत गरिएको स्थानीय शिक्षक हर्कराज राईले बताए । वडाले थालेको अभियानमा स्थानीयले उत्साहजनक रुपमा श्रमदान गरेको उनको भनाइ छ ।

युवाहरुको सकृयतामा भएको श्रमदान अभियान मार्फत सात दिनमा रु.पाँच लाख बढीको काम भएको स्थानीय सीताराम राईले बताए । धेरै ठाउँमा सडक विग्रेको कारण वडामा आएको बजेटले सडक मर्मत गर्न असम्भव भएपछि श्रमदान मार्फत काम गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार