योजनाबद्ध विकासको लागि भोजपुरको साल्पासिलिछोले पञ्चवर्षे योजना निर्माण गर्दै 

विकासमा सबैको साझा धाराणा बनाइने


भोजपुर, ४ चैत्र ।भौगोलिक रुपमा विकट मानिने भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउन पञ्चवर्षे योजना निर्माण गर्ने भएको छ । सञ्चालन हुने कार्यक्रमलाई सफल बनाएर सवै गाउँपालिकाबासीको विकासमा साझा धाराणा बनाउने उद्धेश्यले कार्यक्रमको थालनी गरेको हो ।

स्थानीय बुद्धीजिवी, समाजसेवी तथा विभिन्न क्षेत्रका विज्ञबाट आएका सल्लाह सुझाव तथा परामर्शको आधारमा यहाँको आवधिक पञ्चबर्षे योजना निर्माण गरिने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए । गाउँपालिकाका सवै क्षेत्रका विज्ञ नागरिकको राय लिएपछि गाउँपालिकाको योजना बैंक तयार हुने उनको भनाइ छ ।

‘गाउँपालिकाका कामहरुलाई प्रभावकारीसँगै जनमुखी बनाउन दिर्घकालिन योजनाको आवश्यकता छ’अध्यक्ष कुलुङले भने,‘यहाँको विकासमा सबैको साझा धाराणा निर्माण गर्न हामी लागि परेका छौँ । खास गरेर हामीले यो गाउँपालिकालाई अबको पाँच वर्षमा कस्तो बनाउने भन्ने खाका तयार गरेर काममा जुट्ने योजनामा छौँ ।’

भौगोलिक विकटताका कारण साल्पासिलिछो गाउँपालिकामा प्राकृतिक श्रोतको उपलब्धता राम्रो भएपनि यसको सदुपयोग हुन नसकेको अध्यक्ष कुलुङको भनाइ छ । यहाँको सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगाएत क्षेत्रको विकासलाई कसरी अघि बढाउने भन्ने विषयमा भावी योजना तयार गर्ने अध्यक्ष कुलुङले बताए ।

‘‘भौगोलिक रुपमा हाम्रो गाउँपालिका विकट नै छ’ उनले भने,‘यहाँका श्रोत साधनको अधिकतम उपयोग गरेर गाउँपालिकालाई समृद्ध बनाउन अहिले हामीले सञ्चालन गरेको अभियानले टेवा पुग्ने हाम्रो लक्ष्य छ ।’

पञ्चवर्षे आवधिक योजना निर्माण गर्न अहिले यहाँको सम्पूर्ण छ ओटै वडामा पुगेर प्रारम्भिक सुझाव तथा तथ्याङ संकलनको काम भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले बताए । सम्पूर्ण क्षेत्रका नागरिकबाट आएको सुझाबको आधारमा गाउँपालिकाका योजनाकोसमेत प्राथमिकीकरण गरिने प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।

‘हामी गाउँपालिकाको कामलाई गुणात्मक र परिणाममुखी बनाउन जुटेका छौँ’ प्रशासकीय अधिकृत अधिकारीले भने,‘ भावी योजनालाई कसरी सञ्चालन गर्दा स्थानीयको आवश्यकता र अपेक्षा पुरा गर्न सकिन्छ भन्नको लागि सुझाब लिने काम भईरहेको छ । यसले आगामी दिनको बजेट निर्माणमासमेत टेवा पुग्छ ।’

गाउँपालिकाको कामलाई सहज र सरल बनाउनको लागि योजनाबद्ध विकासमा ध्यान दिएको प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । यहाँ सञ्चालनमा रहेका योजनालाई आगामी बैशाखसम्ममा सम्पन्न गराउने लक्ष्यसहित काम भईरहेको उनले बताए

‘अन्य स्थानीय तहको तुलनामा यो गाउँपालिका विकट नै छ,’उनले भने,‘‘वर्षात लानेपछि सदरमुकामसम्मको यातायात सेवा नै बन्द हुन्छ । भौगोलिक रुपमा विकट भएकाले कर्मचारी बस्न नमान्ने समस्या पनि छ । तर पनि यहाँको उपलब्ध श्रोतको परिचालन गरेर सेवालाई सरल बनाएका छौँ ।’

सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउनको लागि काम भईरहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै स्थानीयमा रहेको विद्युत्को समस्यालाई ध्यानमा राखेर विद्युत् विस्तारको काम पनि भईरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार