सप्तरी, १६ भाद्र । तराईमा निष्ठापूर्वक मनाइने चौठचन्द पर्वको अन्तिम तयारीमा यहाँका श्रद्घालुहरू जुटेका छन् । आज ९सोमबार० चौठचन्द पर्व मनाइँदै छ । घरबाहिर रहेका आफन्तजनसहित सामूहिक जमघटमा मनाइने यो पर्व तराईका धनुषा महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा मनाइन्छ ।
यस अवसरमा ठाउँठाउँमा गणेश तथा अन्य देवीदेवताका मूर्ति निर्माण गरी गणेश पुजनोत्सवको तयारी पनि गरिएको छ । भदौ शुक्ल चतुर्थीको साझ मनाइने चौठचन्द पूजा मिथिला क्षेत्रमा मिथिला नरेश हेमागंद ठाकुरद्वारा प्रारम्भ भएको भनाइ छ ।
चन्द्रमा कलंकित भएको धार्मिक मान्यतानुसार मिथिलावासी चौठीका दिन चौठचन्द पूजा गर्छन । खिर, पुरी, दही, मिठाइ, फलफूल, नैवेद्यसहित चौठिकको साझ चन्द्रमालाई अर्घ दिएर पूजा गरिन्छ । दिनभर उपवास बसेकी महिलाले अर्घदान गर्दछन् ।
परिवारको कल्याण र धनधान्यका लागि चौठचन्दको पूजा गरिन्छ । चौठचन्दमा सम्पूर्ण परिवार एकै स्थानमा बसेर पूजा गरी प्रसाद खाने चलन रहेको र यसले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पंडित रूपकान्त मिश्रको भनाइ छ । यता पर्वको पूर्वसध्यामा आइतबार स्थानीय बजारमा दूधदेखि फलफूलसम्मको मनपरी मूल्य कायम गरेको उपभोक्ताले गुनासो गरेका छन् ।
यसै समयमा तीज पर्वसमेत परेकाले यी पर्वहरूमा उपयोग गरिने वस्तुहरूको मूल्य मनपरी कायम गरिएको उनीहरूले गुनासो गरेका छन् । यस्तै केरा, नरिवल, काक्रो, कागती, मकैलगायत प्रसाद सामग्री तथा माटोका भाडामा समेत तीन गुणाले बढेको तथा नियन्त्रणका लागि सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।




















