छोरीलाई मात्र सन्तानका रूपमा स्विकार्ने दम्पतीलाई सम्मान


बझाङ१६ भाद्र । सदरमुकाम चैनपुरमा बझाङका आठवटा दाम्पतीलाई छोरीलाई मात्र सन्तानका रूपमा लिएको भन्दै सम्मान गरेको छ । जिल्ला समन्वय समितिको समन्वयमा प्रतिनिधिसभा सदस्य आशा विकको पहलमा जिल्लाका छोरीलाई मात्र सन्तानको रूपमा स्वीकार गर्ने दाम्पतीलाई सम्मान गरेको हो ।

हरितालिका तिजको अवसर पारेर लैंगिक असमानता हटाउन पनि यो कार्यक्रमले थप टेवा मिलेको छ । सम्मान कार्यक्रममा प्रतिनिधिसभा सदस्य आशा विक, संविधान सभा सदस्य अफिलाल ओखेडा, जिल्ला समन्वय प्रमुख खडक खड्कालगायतका नेताहरूले दोसल्ला, प्रमाणपत्रसहित सम्मान गरेका थिए । ‘समाजमा छोरीलाई सन्तानको रूपमा छोरीको अस्तित्व नहुने र छोरा भए मात्र पुण्य कमाइन्छ भन्ने मान्यताले मलाई पनि दोस्रो बिहे गरेर छोरा जन्माउनुपर्छ भन्ने बाध्यता आएको थियो,’ कैलाशका शिक्षक ऐनबहादुर सिंहले भने, ‘श्रीमतीको पनि स्वास्थ्य अवस्था कमजोर थियो । दुई छोरी भएपछि परिवार नियोजन गरिदिएँ ।’ हाम्रो समाजमा ५÷ ६ वटा छोरी भए पनि छोरा जन्माउने आशामा बच्चा जन्माई राख्ने, छोराका लागि अर्को बिहे गर्ने प्रचलन धेरै भए पनि आफूले यसको बेवास्ता गरेर छोरीमा सन्तुष्टि भएकोसमेत सम्मानित जोडीहरूको भनाइ रहेको थियो ।

वडाध्यक्षसमेत रहेका कलक ओलीले लागातार तीन छोरी भइसकेपछि आफूले छोरीलाई पनि छोराजस्तै मानेर छोराको आशा नगरी परिवार नियोजन गरेको बताए । अर्का गिरी जप्रेल, दमन भण्डारी, कुलगिरी धामी बलमान विकराम सिंह आग्री र ऐनबहादुर सिंहले पनि एक÷दुईवटा छोरी पाएपछि परिवार नियोजन गरेर छोरीलाई छोरासरह मान्दै आएका छन् ।
बझाङको सामाजिक मूल्यमान्यताअनुरूप छोरा नभए अपुताली प¥यो भन्ने र छोरीलाई सन्तानका रूपमा स्वीकार नगर्ने र पराई घर जाने जात त हो नि भनेर हेला गर्ने मान्यतालाई तोड्दै छोरीलाई पनि छोरासरह सम्मान गरेर लंैगिक विभेदलाई हटाउनलाई उनीहरूलाई सम्मान गरिएको प्रतिनिधिसभा सदस्य आशा विकले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार