
राजविराज, १६ भाद्र । जागिर लगाई दिने भन्दै युवतीहरुलाई यौन शोषण गर्नुको साथै उनीहरुबाट लाखौ रुपैया लुटपाट र ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादवलाई प्रहरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो ।
एक वर्ष अघि मात्र मोरङ्ग जिल्ला अदालतबाट एक युवतीको बलात्कार तथा लुटपाट घटनामा दोषी ठहर भई सजाय समेत तोकिएपनि फरार रहेका यादवलाई गोप्य सूचनाका आधारमा अघिल्लो दिन राती मोरङ्गको बुढी गंगा नगरपालिका ३ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरमा सोमबार पत्रकार सम्मेलन मार्फत यादवलाई सार्वजनिक गरिएको हो । अपराध लुकाउन समाजिक संजाल इमोमा आफूलाई संजिव खडका भनि चिनाउने यादव आधा दर्जन बलात्कार तथा लाखौ रुपैया लुटपाट र ठगी गरेको घटनामा संलग्न रहेको पाइएको पत्रकार सम्मेलनमा डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
इमोमार्फत युवतीहरुको फोन नम्बर पत्ता लगाई उक्त नम्बरमा फोन गरि ‘म रोजगारी डटकमको म्यानेजर हुँ, विभिन्न बैंक र संस्थामा जागिर लगाई दिन्छु भन्दै प्रलोभन देखाई घरमै बोलाई बलात्का गर्ने गरेका थिए । त्यति मात्रै हैन कतिलाई लुटेको पनि अनुसन्धानको क्रममा खुलेकोे डिएसपी मिश्रले जानकारी दिए ।
उनले तीन जना युवतीलाई एनआइसी एसिया बैंकमा जागिर लगाई दिन्छु भन्दै घरमै बोेलाई नियुक्ति पत्र समेत दिएर जबर्जस्ती करणी गरेका थिए । विषयमा पिडितहरु प्रमाण सहित सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवले जागिरको लोभलालच देखाई आधा दर्जन भन्दा बढी युवती सँग यौन दुव्र्यवहार र सुनँचाँदीका गरगहना तथा १० लाख भन्दा बढी रकम लुटपाट र ठगी गरेको अनुसन्धानको क्रममा खुलेको छ ।
‘करिब ३ वर्ष देखि समाजिक संजालमा रोजगारी डटकम माध्यमबाट टाढा टाढाका महिलालाई जागिरको प्रलोभन देखाई लुटपाट तथा जबर्जस्तीकरणी गर्ने यादवबाट पिडित बन्नेहरुको संख्या अझै थपिदै गएको छ’ डिएसपी मिश्रले भने ‘त्यसैले यादवको अपराधको फेहरिस्त अझै लामो हुने निश्चित देखिएको छ ।’
पक्राउ परेका यादवका साथबाट ८ थान मोबाइल, खुकुरी १ थान, चक्कु १ थान, विभिन्न बैंकको चेकबुक ४ थान, भिसाकार्ड १ थान, विभिन्न युवतीका नाममा लेखिएको नियुक्ति पत्र ४ थान, आन्तरिक राजश्व विभागको स्टिकर ४ थान, विमा कागजात २ थान, युवतीहरुबाट लुटिएको सुन र चाँदीको गरगहना तथा नगद ३३ हजार रुपैया समेत बरामद गरिएको छ।
अदालतबाट म्याद थप गराई उनीमाथि जबर्जस्तीकरणी उद्योग, लुटपाट तथा ठगी लगायतका मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।




















