प्रदेश सरकारको १ वर्ष, ९० वर्ष माथिका वृद्धवृद्धालाई ५ हजार नगदसहित घरमै सम्मान


विराटनगर । प्रदेश १ को सरकारले एकवर्षे कार्यकाल पुरा गरेको अवसरमा यसै आर्थिक वर्षमा प्रदेशका ९० वर्षभन्दा माथिका वृद्धवृद्धालाई ५ हजार नगदसहित सम्मान गर्ने घोषणा गरेको छ ।प्रदेश सरकारले एक वर्ष पुरा गरेको अवसरमा शुक्रबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले यस्तो घोषणा गरेका हुन्। ‘९० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई प्रदेश सरकारले ५ हजार नगदसहित घर–घरमा सम्मान गर्ने छ,’ मुख्यमन्त्री राईले भने, ‘यो सानो र पहिलो प्रयास मात्र हो। प्रदेश सरकारले क्रमश प्रदेश र जनतालाई जोड्दै जानेछ।’ मुख्यमन्त्री कार्यालयले तयार पारेको ‘प्रदेश सरकारको एक वर्ष’ पुस्तक औपचारीक कार्याक्रममा प्रदेश १ का प्रमुख गोविन्द्रबहादुर तुम्बाहाङले सार्वजनिक गरे। एक वर्ष भित्र गरिएका महत्वपूर्ण कामलाई पुस्तकमा ५१ पृष्ठमा समेटिएको छ। प्रदेश सरकारको एक वर्षे अवधीमा मन्त्रिपरिषदको ३७ वटा बैठक बसी एक सय ५८ वटा निर्णय गरेको वर्ष पुस्तकमा उल्लेख छ। मन्त्रिपरिषद बैठकबाट एक अध्यादेश, २३ वटा विधेयक, ३० वटा कार्यविधि र निर्देशिका तथा नियमावली दुईवटालाई स्वीकृत गर्ने काम गरेको छ।

प्रदेश समन्वय परिषदको बैठक सम्पन्न भएको, आवधिक योजना निर्देशनालय गठन भइ प्रदेश सरकारको पहिलो आवधिक योजना निर्माणको काम थालनी भएको जनाइएको छ। प्रदेश सरकारको काम तथा सेवालाई प्रभावकारी बनाउन ११ वटा मन्त्रालय स्तरीय कार्यालय र त्यस अन्तर्गत एक सय ५५ वटा निर्देशनालय तथा जिल्ला स्तरीय कार्यालय स्थापना भएका छन्। शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न टेलिफोन सेवा नपुगेको ठाउाका नेपाल प्रहरीलाई एक सय थान मोबाइल खरिद गरी हस्तान्तरण गर्ने काम समेत सम्पन्न भइ सकेको छ। अति विशिष्ट र विशिष्ट पदाधिकारीहरूको भ्रमणलाई व्यवस्थित गर्न अति विशिष्ट र विशिष्ट गरी दुई थान सवारी साधन प्रदेश सरकारले प्रबन्ध गरेको छ।

एक नम्बर प्रदेशका १४ वटै काराकार कार्यालयको भौतिक संरचना मरमत सम्भारका लागि प्रत्येकलाई पाँच लाख रूपैयाँका दरले ७० लाख रूपैयाँको अख्तियारी दिएको छ भने प्रदेश प्रहरी हेडक्वाटरलाई सुविधा सम्पन्न बनाउन बहुवर्षीय योजनामा राखी पाँच करोड रूपैयाँको अख्तियारी दिएको छ। २८ वटा प्रहरी चौकी निर्माणका लागी प्रदेश सरकारले अख्तियारी दिएको छ। कार्यक्रम प्रदेश स्थापना गलदेखि नै काम गरेका निजामति कर्मचारीहरुलाई सम्मान समेत गरीएको थियो। स्थापना कालमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिव पदमा रही उतृष्ट काम गर्ने हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवमा कार्यरत यज्ञबहादुर खत्रीलाई सम्मान गरीएको थियो। यसै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रल्हादप्रसाद सापकोटासहित विभिन्न तहका गरी ४१ जनालाई सम्मान गरेको छ। उक्त अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरीद गरेका २०० वटा मोटरसाइकलका साँचो मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का प्रहरी प्रमुख केदार रिजाललाई हस्तान्तरण गरेका थिए। मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई ति सवारी साधन उपलब्ध गराएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार