टेम्केमैयुङमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


भोजपुर, १६ माघ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रको विकास गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
शुक्रबारदेखि टेम्केमैयुङ गाउँपालिका–६ स्थित जनोदय माध्यमिक विद्यालय, कोटमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्रका नौवटा विद्यालय सहभागी भएका छन् ।


प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद प्रतिभा उजागर गर्नुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । खेलकुद तथा शैक्षिक क्रियाकलापको माध्यमबाट विद्यार्थीलाई सक्षम र आत्मनिर्भर बनाउन यस्ता प्रतियोगिताले टेवा पु¥याउने उहाँको भनाइ छ ।
माघ १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने अन्तरविद्यालयस्तरीय प्रतियोगितामा भलिबल, एथलेटिक्सलगायत विभिन्न खेलकुद विधाहरु समावेश गरिएका छन् । प्रतियोगितामार्फत स्थानीय तहमा रहेका खेल प्रतिभाको पहिचान गर्दै दीर्घकालीन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विद्यालयहरूबीच आयोजना गरिने यस्ता प्रतियोगिताले विद्यार्थीहरूको बहुआयामिक क्षमता अभिवृद्धिमा टेवा पु¥याउने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । विद्यार्थीहरूलाई अनुशासित, लगनशील र जिम्मेवार बनाउन खेलकुद प्रतियोगिताले सहयोग गर्ने उहाँको भनाइ छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय अभिभावकहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार