भोलीदेखि हुने तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप तथा बृहत माघीमेलाको सम्पूर्ण तयारी पूरा


युवराज विष्ट भोजपुर, १३ माघ ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा भोलीदेखि सुरु हुने तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । गाउँपालिकाको मुख्य आयोजनामा माघ १४ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता तथा मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद तीन लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यसका साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाईसमेत आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

फुटबल प्रतियोगितासँगै सञ्चालन हुने वृहत माघी मेलामा स्थानीय कला, संस्कृति र परम्परा झल्कने विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन् । मेलाले स्थानीय पहिचान संरक्षण तथा सांस्कृतिक आदान–प्रदानमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय खेलकुदको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने र सामाजिक–सांस्कृतिक गतिविधिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । गाउँपालिकाले प्रतियोगिता तथा मेलालाई सफल बनाउन खेलप्रेमी, खेलाडी तथा सम्पूर्ण स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार