१०९ वर्षीय बृद्धाद्धारा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप’ तथा माघी मेला उद्घाटन


युवराज विष्ट
भोजपुर, १४ माघ ।
तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेला बुधबारदेखि सुरु भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यवस्थापनमा गाउँपालिकाको केन्द्र च्याङग्रेको पौवादुङमा रंगशालामा प्रतियोगिता तथा मेला आयोजना गरिएको हो । गोल्डकप तथा बृहत माघिमेलाको १०९ वर्षिय बृद्धा कौशिला भुजेलले उद्घाटन गर्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले गोल्डकप तथा माघी मेलाले स्थानीय तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै युवा तथा बालबालिकाको शारीरिक र मानसिक विकासमासमेत सहयोग पुग्ने बताउनुभयो । विभिन्न प्रतियोगिता तथा मेलामार्फत पौवादुङमालाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गाउँपालिका निरन्तर लागिरहेको उहाँको भनाइ छ ।
प्रतियोगिताको विजेता टोलीले नगद रु. ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै प्रतियोगिताभर सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्ता घोषित गर्दै आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितासँगै सञ्चालन हुने वृहत माघी मेलामा स्थानीय कला, संस्कृति र परम्परा झल्कने विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुने प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । मेलाले स्थानीय कृषि उत्पादनको प्रर्वद्धनमा टेवा पुग्ने उहाँको भनाइ छ ।
गाउँपालिकाले प्रतियोगिता तथा मेलालाई सफल बनाउन खेलप्रेमी, खेलाडी तथा सम्पूर्ण स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।
आज भएको उद्घाटन खेलमा नयाँ श्रीनाथ गण भोजपुरले र जाल्पादेखी फुटबल क्लव पाख्रीबासलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी सुट आउटमा थकेलिएको थियो ।
प्रतियोगितामा जाल्पादेवी एफसी पाख्रीवास, जरायोटार एफसी भोजपुर, अलस्टार क्लव धरान, छथर गाउँपालिका तेह्रथुम, योङ्ग ब्वायज धरान, कोदार फुटवल क्लव भोजपुर, तालतलैया एफसी इटहरी, टेम्केमैयुङ गाउँपालिका भोजपुर र आयोजक समितिको सहभागिता रहेको छ ।

यस्तै मिरमिरे युवा क्लब सङ्खुवासभा, दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङ, बुढीगंगा गाउँपालिका मोरङ, बुढासुव्वा आन्द्रङ धनकुटा, सिंहदेवी एफसी भामराङ र गोलबजार युनाइटेड क्लब सिरहा गरी १६ टिमको सहभागिता रहेको छ । माघ १४ गतेदेखि सुरु भएको प्रतियोगिता तथा माघी मेला माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार