दोस्रो सुन्दरहरैँचा उपमेयर कप माघ ६ देखि शुरु


मोरङ, ३ माघ ।
दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ देखि ८ गतेसम्म हुने भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खेल मैदानमा खेल आयोजनाको तयारी भइरहेको छ । प्रतियोगिताको आयोजना सिद्धार्थ युवा समाजले गरिरहेको छ । विभिन्न जिल्लाका १२ वटा पालिकाबाट महिला भलिबल टिमको सहभागिता सुनिश्चित भइसकेको सिद्धार्थ युवा समाजका अध्यक्ष असिम राईले बताउनुभयो ।

उहाँका अनुसार महिला खेलाडी उत्पादन तथा प्रवद्र्धन गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ३३ हजार रुपैयाँ, द्वितीय हुने टिमले ६६ हजार ५०० रुपैयाँ नगद साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा ओखलढुंगा, भोजपुर, धनकुटा, खोटाङ, संखुवासभा,उदयपुरलगायत पहाडी जिल्लाका पालिकाबाट समेत टिमको सहभागिता रहने जनाइएको छ ।

भलिबल खेल प्रतियोगिताका खेल संयोजक पूर्व राष्ट्रिय खेलाडी पोष्टकुमार श्रेष्ठ रहनुभएको छ । सुन्दरहरैँचा नगरपालिकाले आर्थिक सहयोग गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार