सहज पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्याङ’


युवराज विष्ट
भोजपुर, २२ साउन ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्याङ’ सहजको पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा पर्यटन पूर्वाधारको विकाससँगै सडकको सहज पहुँच भएपछि पर्यटकको सहजको गन्तव्य बनेको हो ।
कालोपत्र सडकले जोडिएको यो पर्यटकीय स्थल भोजपुर सदरमुकामबाट करिव ४० किलोमिटरको दुरीमा अवस्थित छ । सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य रहेकोले घुमघामसँगै शहरी जीवनशैलीको व्यस्तताको थकान मेटाउनका मानिसहरुले लागि यो ठाउँलाई रोज्ने गरेका छन् । सडकको विस्तारले यो स्थान सहज र सरल पर्यटकीय गन्तव्य बनेको गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो ।
स्थानीय परिकारहरुको स्वाद लिदै प्राकृतिको आनन्द लिनका लागि मानिस यहाँ पुग्ने गरेका छन् । गर्मी समयमा चिसोको अनुभूति लिनको लागि पनि विभिन्न ठाउँबाट यहाँसम्म पयर्टक आउने गरेको स्थानीयको भनाइ छ । चखेवा भञ्याङको उचाई समुन्द्रि सहतबाट दुई हजार ३५१ मिटर रहेको छ ।
चखेवालाई पर्यटन संस्कार, संस्कृति र सभ्यताको क्षेत्रको रुपमा विकास गर्ने योजनाको साथ विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुको रुपमा रहेकोले यो क्षेत्रको सहरीकरणसँगै बस्ती विस्तारमा जोड दिइएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । चखेवामा पर्यटन सूचना केन्द्र निर्माण भएकाले यसलाई चाडै सञ्चालनमा ल्याउने तयारी रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।
“चखेवा हाम्रो गाउँपालिकाको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र हो”अध्यक्ष बस्नेतले भन्नुभयो,“यो ठाउँलाई पयर्टनसँग जोडेर संस्कार सस्कृति र सभ्यताको क्षेत्रको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ । हामी चखेवा क्षेत्रलाई पूर्वको एक स्थापित पर्यटकीय गन्तव्य बनाउन जुटेका छौँ ।”
भोजपुर र खोटाङको सीमनामा रहेको यो स्थानमा बृहत साँस्कृतिक संग्राहलय,पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माण गरिने अध्यक्ष बस्नेतले बताउनुभयो । केन्द्र सरकारको करिव रु. तीन करोड लागतमा संग्रालय निर्माणको लागि जग्गा खोजी भईरहेको उहाँले जानकारी दिनुभयो ।“यो क्षेत्र प्राकृतिक हिसाबले आफैमा सुन्दर छ”अध्यक्ष बस्नेतले भन्नुभयो,“हामीले यहाँको संस्कार संस्कृतिको विकासमा पनि जोड दिएका छौँ । पर्यटकहरुको सहज आवगमनमा हामीले ध्यान दिएका छौँ।”
टेम्केमैयुङ गाउँपालिका पर्यटनको धेरै सम्भावना बोकेको क्षेत्र रहेकोले यहाँको योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । मुन्दुम पदमार्ग क्षेत्रमा पर्ने चखेवा भञ्याङ पर्यटकको रोजाइको गन्तव्यको रुपमा स्थापित हुँदै गएको उहाँको भनाइ छ ।
चखेवासँगै मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धनको लागि विभिन्न समयमा मेला महोत्सवसमेत सञ्चालन भईरहेको उपाध्यक्ष राईले बताउनुभयो । स्थानीयलाई आर्थिक उपार्जनमा जोड्न गाउँपालिकाले कृषि र पर्यटनको विकासमा जोड दिएको उहाँको भनाइ छ । “टेम्केमैयुङ पर्यटनको राम्रो सम्भवाना बोकेको स्थानीय तह हो”उपाध्यक्ष राईले भन्नुभयो,“हामीले यहाँको पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जोड दिएका छौँ ।”
गाउँपालिकाले ‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधारःटेम्केमैयुङ विकासको आधार” भन्ने मुल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार