भोजपुरबाट ३५ करोड बढीको सुन्तला निर्यात


युवराज विष्ट

भोजपुर, २७ माघ । भोजपुर जिल्लाबाट यस वर्ष रु.३५ करोड २८ लाख बरावरको सुन्तला निर्यात भएको छ । चार हजार २०० मेट्रिक्टन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
यहाँ नौ सय ५० हेक्टरमा सुन्तला खेती विस्तार गरिएको भएपनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवले जानकारी दिनुभयो । हालसम्म भोजपुरबाट रु. ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको तथ्याङ्क रहेको प्रमुख यादवले बताउनुभयो ।
“भोजपुरबाट यस वर्ष ३५ करोड बढीको सुन्तला निर्यात भएको छ” प्रमुख यादवले भन्नुभयो,“यहाँको सात सय ९० हेक्टर क्षेत्रमा विस्तार भएको सुन्तलाले उत्पादन दिने गरेको छ । आगमी दिनमा यहाँबाट निर्यात हुने सुन्तलाको परिमाण अझ बढ्ने देखिन्छ ।”

किसानलाई सुन्तला खेतीमा प्रोत्साहन गर्न कार्यालयले आवश्यक सहयोग गर्दै आएको उहाँको भनाइ छ । किसानहरुलाई सुन्तलामा लाग्ने रोग, किराको बारेमा जानकारी दिन स्थलगत रुपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरण लगायतको काम गर्दै आएको प्रमुख यादवको भनाइ छ । सुन्तला खेती यहाँका किसानको राम्रो आम्दानीको स्रोत रहेको उहाँको भनाइ छ ।

“पछिल्लो समय भोजपुरका किसान सुन्तला खेती तर्फ आकर्षित भएका छन्” उहाँले भन्नुभयो,“सुन्तला खेतीमा जुटेका किसानलाई आवश्यक तालिमसँगै प्रविधिक सहयोग पनि गर्दै आएका छौँ । वर्सेनी यहाँ खेती विस्तारको क्षेत्र बढी रहेको अवस्था छ ।”
जिल्लाका सवै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ । बढी मात्रामा सुन्तला उत्पादन हुने भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सुन्तला पकेट क्षेत्र विस्तार गरिएको छ ।

विगतमा स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकको पहँुच विस्तारसँगै बाहिरको जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाउने गरेका छन् । यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाण्डौलगायतका शहरमा जाने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

भोजपुरमा गतवर्ष रु. २९ करोड बराबरको सुन्तला निर्यात भएको कार्यालयले भनाइ छ । गत वर्षको तुलना यो वर्ष सुन्तला उत्पादनमा बृद्धि भएको कार्यालय जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार