
भोजपुर,२५ माघ ।
पश्चिमी क्षेत्रबाट भोजपुर सदरमुकाम जोड्ने खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र शिलान्यास गरिएको छ । मध्ये पहाडी लोकमार्गको शुन्य विन्दु खोङटाङबाट करिव डेढ किलोमिटर सडक कालोपत्र शिलान्यास गरिएको हो ।
यो सडक खण्डको करिव २५ किलोमिटर मध्ये पहिलो खण्डमा शुन्य विन्दुबाट रु. दुई करोड ६१ लाख ७१ हजार ६३१ लागतमा कालोपत्र थालिएको छ । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय कोशी प्रदेश इटहरीको बजेटमा सडक कालोपत्र शिलान्यास गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । यो सडक आस्फाल्ड प्रविधिबाट कालोपत्र हुने उहाँले जानकारी दिनुभयो ।
“खोङटाङ–चोलन्ती– खावा –पाँचधारे सडक खण्डको शुन्य विन्दुबाट कालोपत्रको शिलान्यास गरेका छौँ” अध्यक्ष बस्नेतले भन्नुभयो,“यो सडकको करिव २५ किलोमिटर मध्ये डेढ किलोमिटर कालोपत्र हुन्छ ।” पहिलो खण्डको कालोपत्रको काम २०८२ असार १५ गते सम्पन्न गर्ने गरी मार्सेली –सिप्तुङ लाइट जेभीले जिम्मा लिएको छ ।
यहि सडकको दोश्रो खण्ड हुँगे गाउँ पुछारबाट पाँचधारेसम्म स्तरोउन्न्तीको काम पनि भइरहेको छ । यहाँ सडक डिभिजन कार्यालय लुम्लिङटारको रु. दुई करोड र कोशी प्रदेश सरकारको रु. २५ लाख गरी कुल दुई करोड २५ लाख लागतमा स्तरोउन्नती भईरहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
यो सडक खण्डमा ग्याभिङ जाली लगाउने,ग्रावेल, सोलिङ गर्ने, मोड मिलाउने, आरसीसी ढलान गर्ने, कजवे निर्माणलगायतको काम हुने जनाइएको छ । पश्चिमी क्षेत्रबाट भोजपुर सदरमुकाम जोड्ने मुख्य सडक रहेकाले प्राथमिकता साथ काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो ।
“यो सडकलाई दुई खण्डमा विभाजन गरेर कालोपत्रसँगै स्तरोउन्नतीको काम थालेका छौँ”उपाध्यक्ष राईले भन्नुभयो,“यो हाम्रो गाउँपालिकाको निकै महत्वपूर्ण सडक हो । यो सडकले छिमेकी जिल्ला खोटाङसँगै गाउँपालिकाका पाँच वटालाई समेट्ने भएकाले प्राथमिकतामा राखेका छौँ।” स्तरोउन्नतीको काम पनि यो आर्थिक वर्षभित्र सम्पन्न हुने गाउँपालिकाले जनाइएको छ ।