भोजपुरमा ‘ग्रेटर मुन्दुम’ पदमार्गको काम शुरु


युवराज विष्ट
भोजपुर, २४ माघ ।
भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी टप्पु, उदयपुरको वेलका नगरपालिको मैनामैनी, भोजपुर हतुवागढीको माईबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्याङसम्म पदमार्ग जोडने लक्ष्यका साथ ग्रेटर मुन्दुम ट्रेलको काम शुरु भएको हो ।
यो ट्रेलको काम शुरु भएको भोजपुरको हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिकाको अन्तरपालिका बैठक बसेर थप योजना निर्माण गरिएको छ । तीन वटा नै स्थानीय तहका अध्यक्षको उपस्थिातिमा पदमार्ग उपभोक्ता र निर्माण समितिहरुलाई अभिमुखिकरण कार्यक्रमसमेत गरिएको छ । हतुवागढी गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा परियोजनाका कर्मचारी तथा स्थानीय पालिकाका इन्जिनियरहरुले उपभोक्ता समितिलाई काम कसरी गुणस्तरियढंगले गर्ने भन्ने विषयमा सहजीकरण गरेका हुन् ।


यो पदमार्गले किराँतहरुको आस्थाको केन्द्रको रुपमा रहेको खुवालुङ क्षेत्र नसमेटिएका कारण धनकुटा, उदयपुर र भोजपुरका सात वटा स्थानीय तहहरुको अन्तरपालिका बैठक वसेर सो क्षेत्र हुँदै पदमार्ग विस्तारको विषयमा छलफल गर्ने तयारी भईरहेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।
कोशी प्रदेश सरकार पर्यटन मन्त्रालय, पदमार्गमा आधारित पर्यटन विकास परियोजना, धनकुटाका सहिदभूमि, साँगुरीगढी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका, भोजपुरको हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिका बीच छलफल गरेर खुवालुङ क्षेत्र हुँदै पदमार्ग विस्तार गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ ।
“हामीले भोजपुरमा तीन वटा स्थानीय तहको अन्तरपालिका बैठक सम्पन्न गरेका छौँ” अध्यक्ष राईले भन्नुभयो,“सुनसरीको कोशी टप्पुबाट शुरु भएर उदयपुर हुँदै भोजपुरसम्म विस्तार हुन लागेको ग्रेटर मुन्दुम पदमार्गमा खुवालुङ क्षेत्र छुटेको अवस्था छ । यहाँ महत्वपूर्ण खुवालुङ क्षेत्रलाई समेट्न तीन जिल्लाका सात वटा स्थानीय तह र सरोकारवाला पक्षसँग छलफल गर्ने तयारीमा छौँ ।”
चारवर्षसम्म निर्माण हुने ग्रेटर मुन्दुम पदमार्ग निर्माणमा स्वीस सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत, स्थानीय सरकारको १८ प्रतिशत र संघ सरकारको ८ प्रतिशत लागत साझेदारी हुने अध्यक्ष राईले जानकारी दिनुभयो ।
पहिलो आर्थिक वर्ष २०८१÷८२ मा हतुवागढी ९ हसनपुर, आमचोक २ यूँ र रामप्रसादराई गाउँपालिका ६ बैकुण्ठेमा पदमार्ग निर्माणको काम शुरुवात भएको अध्यक्ष राईको भनाइ छ ।
निर्माण हुन लागेको ग्रेटर मुन्दुम ट्रेलको रुटमा ऐतिहासिक खुवालुङ क्षेत्र छुटेकोले यसलाई पनि समेट्नको लागि पहल गरिने रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । रामप्रसादराई गाउँपालिकामा पहिलो चरणमा रु. ३० लाख लागतमा पदमार्ग निर्माणको काम शुरु भएकोसमेत उहाँले जानकारी दिनुभयो । सोहि रकम बरावरमा हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा पनि पदमार्ग निर्माणको काम शुरु भएको अध्यक्ष राईको भनाइ छ ।
ग्रेटर मुन्दुम पदमार्ग सुनसरीको कोशी टप्पुबाट शुरु भएर उदयपुरको मैनामैनी भोजपुर हुतुवागढीको माइबेँनी, शिला सुत्केरी, संखामचुली, आमचोक गाउँपालिकाको बयाङ, यूँ, रामप्रसादराई गाउँपालिकाको वडा न. ६ थामडाँडा, गोल्मे भिर, सुच्चागुफा नागँछाँगा, वडा न २ को पाप्माखामगढी, बतासे र वडा न १ ओख्रे हुँदै टेम्केमैयुङ ९ को कपासे भञ्याङसम्म विस्तार हुने रामप्रसादराई ६ का वडाध्यक्ष एकराज आचर्यले बताउनुभयो ।
तावाभञ्याङमा यस अघि निर्माण भएको मुन्दुम पदमार्गसँग जोडिएपछि भोजपुरकोसवै भन्दा अग्लो स्थान साल्पासिलिचुङसम्म पुग्दा यो पदमार्गको लम्बाई करिव एक सय ६८ किलोमिटर हुने जनाइएको छ ।
पदमार्गमा आधारित पर्यटन विकास परियोजना विराटनगर अन्तर्गत काम भइरहेको छ । यो कार्यक्रम वि.स. २०८१ बाट २०८५ सम्म सञ्चालन हुने जनाइएको छ । चार वर्षको लागि स्वीस सरकार र प्रदेश सरकार बीच सम्झौता भएको छ । पुनः स्थानीय सरकार र प्रदेश सरकार बीच पनि सम्झौता भएर काम अघि बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार