
भोजपुर, २१ माघ ।
शैक्षिक सुधारका लागि नेपाल,भारत,भुटान म्यानमारलगायत देशको भ्रमण अनुभव बाँड्न व्यस्त हुनुहुन्छ भोजपुर पौवादुङमा–३ का नवराज भट्टराई (कोहम) । जीवन यात्रा होइन, यात्रा चाहिँ जीवन हो भन्ने मान्यता राखेर शैक्षिक सुधारको महान अभियानमा जुट्नु भएका उहाँको यो दिनचार्य झै बनेको छ ।
‘यस्तो आदर्श यात्रामा कहिले चलुँला नि म ? चन्द्रसूर्य बनी आफैं कहिले बलुँला नि म ? कमला मावि सिन्धुलीमा पढ्ने विद्यार्थी प्रतिमा श्रेष्ठले लेखेको यो वाक्य उहाँको फेसबुकमा पोस्ट भएको छ’ उहाँ भन्नु हुन्छ‘ यो त एक उदाहरण मात्रै हो, यस्ता अनुभुति त विद्यार्थीले म पुगेका सबै जिल्लाबाट दैनिक पठाउने गर्छन्।’
उहाँ हिजोआज सिन्धुलीका ग्रामीण तथा शहरी भेगका शिक्षण संस्था घुम्दै नेपाल,भारत,भुटान म्यानमारलगायत देशमा शैक्षिक क्षेत्रको विकासमा भएका आफुले देखेका भोगेका अनुभव बाड्दै हुनुहुन्छ ।
२०६५ साल कार्तिक २ गते भएको सल्लाहअनुसार दाजु नारायणप्रसाद भट्टराई (सोहम) सँग सात सय ३० दिनमा नेपाल भ्रमणको यात्रा सक्नु भएका उहाँले भारत, भुटान र म्यानमारको समेत भ्रमण गरी सक्नु भएको छ ।
यस पटक भने उहाँ एक्लै २०७९ पुस ५ मा भोजपुरबाट विद्यार्थीलाई उत्प्रेरणात्मक कक्षा दिन सुरु गरी कोशी प्रदेशका सबै १४ वटै जिल्लाका पाँच सय बढी विद्यालय,क्याम्पस,पालिका, वडासँग देश दौडाहाको अनुभव साट्दै वाग्मती प्रदेशको सिन्धुली पुग्नु भएको छ । उहाँले विद्यार्थी,शिक्षक तथा अभिभावक लाई सकारात्मक सोच, स्मरण शक्ति बढाउने विधि र विश्वका सफल व्यक्तिको संघर्षका कथासँगै आफूले नेपाल, भारत, भुटान र म्यानमार भ्रमणका क्रममा देखे–भोगेका उत्प्रेरणात्मक अनुभव र उदाहरण प्रस्तुत गर्दै प्रेरित गर्ने गरेको बताउनुभयो ।
यस पटक आफूले ‘सबको इच्छा सार्थक शिक्षा, सफा मन सुन्दर जीवन,’ भन्ने नारासहित अनुभव साटासाट गर्न यात्रा मोटिभेसन कार्यक्रमले दुई बर्ष पुरा गरिसकेको बताउनुभयो । ‘विशेषतः समय चक्र र विज्ञान प्रविधिको चरम विकासका कारण नकारात्मकताको दलदलमा फसेका छौं, यसबाट कसरी बाहिर निस्कने भन्ने विषयवस्तु सबैमाझ प्रस्तुत गर्छु,’ उहाँ भन्नुहुन्छ‘जीवन के हो ? हाम्रो मस्तिष्कको क्षमता कति छ र कतिसम्म प्रयोग गरिरहेका छौं भन्ने विषय प्राथमिकताका साथ विद्यार्थीसँग बाँड्दै आएको उहाँको भनाइ छ ।
उहाँले २०६५ मा दाजु नारायणका साथ तीन सय ५० रुपैयाँ लिएर भोजपुरको दिङलाबाट नेपाल भ्रमण थाल्नु भएको थियो । ‘भ्रमणमा धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र पर्यटकीय स्थलका तस्बिर एवं अनुभव समेटर पुस्तक प्रकाशन गर्र्यौं, देश भ्रमणपछि भारत, भुटान र म्यानमार पनि भ्रमण गर्यौ,’ उहाँले अनुभव सुनाउँदै भन्नुभयो‘पैसाको अभाव देखाएर मान्छे सानो काम गर्न पनि पछाडि हट्छ, ‘नोट होइन अठोट, बहाना होइन, चाहना, गाँठ होइन, आँट, प्राण होइन प्रेरणा चाहिन्छ भन्ने दृढ मान्यता छ ।’ अघिल्लो पटकको भ्रमणमा कोहम र सोहमको जोडीलाई विभिन्न जिल्ला पुग्दा त्यहाँका तत्कालीन गाउँ विकास समिति, जिल्ला विकास समिति र केही पत्रकार तथा संघ संस्थाहरूले भोजन, बास र बाटो खर्चका लागि सहयोग गरेका थिए ।
यस पटक उत्प्रेरणात्मक कक्षा दिएका शिक्षण संस्थाका प्राध्यापक शिक्षक, अभिभावक, अघिल्लो भ्रमणमा चिनापर्ची भएका नागरिक र विभिन्न स्थानमा पुग्दा भेटिएका बन्धु बान्धवले यात्रामा सघाइरहेको उहाँको भनाइ छ। ‘प्रदेश तथा सङ्घीय सरकारले चाहिँ हालसम्म कुनै सहयोग गरेको छैन’ कोहमले भन्नुभयो ‘आफूले आर्जन गरेको ज्ञान र अनुभव बाँड्दै नयाँनयाँ ठाउँ पुगेर नयाँ कुरा सिक्ने अभियानमा छु ।’ दुई वर्ष त कोशी प्रदेशमै यस कार्यक्रमको व्यापक माग भएपछि फेरि समय थपेर देशका ७७ वटै जिल्ला पुगेर दुई लाख विद्यार्थीलाई प्रत्यक्ष र जुम मार्फत हजारौं विद्यार्थीलाई प्रेरित गर्ने लक्ष्य अनुरुप कार्य गरिरहेको उहाँको भनाइ छ ।
पहिलो पटकको यात्राको उद्देश्य देशमा रहेका पर्यटकीय स्थलहरूको जानकारी संकलन गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन पुस्तक तथा भिडियो निर्माण रहेको उहाँको भनाइ छ । तर आशय बुझेपछि विभिन्न ठाउँमा भेटिएका बटुवादेखि आफैं मागेर हिँड्ने जोगी संन्यासीसम्मले सदाशयता देखाएको उहाँले बताउनुभयो । भारत भ्रमणमा त्यहाँ व्यवसाय गरेर बसेका नेपालीहरूले यात्रा सकिएपछि पुस्तक प्रकाशनका लागि समेत सहयोग गरेको गरेको उहाँले जानकारी दिनुभयो । पहिलो पटक यात्रा सकेपछि नवराज र उहाँका सहयात्री दाजु नारायणप्रसादले ‘नेपाल भ्रमणका सात सय ३० दिन’, ‘देखेको विश्व र नेपाल’ र ‘विश्व दृष्टि’ नामका तीनवटा पुस्तक प्रकाशन र ‘नेपाल दर्शन र त्रि–देश दर्शन नामका दुई वटा वृत्तचित्र’ निर्माण गर्नु भएको छ ।
नवराजका दुई छोरी ओजस्वी र शाम्भवी, श्रीमती सर्मिला र वृद्धावस्थाका मातापिता छन् । गाउँमा बसिरहेका उहाँको परिवारजनले ज्योतिष,कर्मकाण्ड तथा कृषि कर्म गरेर गुजारा चलाउँछन् । उहाँका दाजु नारायणप्रसादले अचेल काठमाडौंका विद्यालयमा योगाभ्याससम्बन्धी प्रशिक्षण गर्दै आईरहनु भएको छ । दाजुभाइ स्नातक उत्तीर्ण गरेर अभियानमा जुटेको उहाँको भनाइ छ ।‘‘दिनभरि उत्प्रेरणात्मक कार्यक्रम दिएर साँझ अभिभावक र परिवारका सदस्यसँग कुरा गर्छु,’ उहाँले भन्नुभयो, ‘ठाउँठाउँ पुग्दा भेटिएका नवपरिचितले खुसीसाथ आज हाम्रो घर जाउँ एकछाक खाऔं, एकरात सुतौं भन्नुहुन्छ । बास बसेकै ठाउँमा पनि मोटिभेसन क्लास चलाउने प्रस्ताव आउँछ ।नयाँनयाँ ठाउँ पुग्दा झनै नयाँ अनुभव गर्छु, जीवनमा अझै धेरै घुम्नु छ, अनुभव गर्नुछ, त्यसैले यात्रा नै जीवन हो भनेको हुँ,’ उहाँले भन्नुभयो ।