
भोजपुर, २८ असार । पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाको दोश्रो बैठक सम्पन्न भएको छ । सभामार्फत आर्थिक २०८१÷८२ नीति तथा कार्यक्रम पारित गरिएको छ । शुक्रबार सम्पन्न वैठकबाट संसोधितसहित चालु र पुँजीगत गरी कुल ३८ करोड २८ लाख ४१ हजार बराबरको बजेट पारित भएको छ ।
१५ औँ गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पशुपालन कार्यक्रमलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले कृषकहरुसंगको लागत साझेदारीमा फलफूल बगैंचा विकास तथा एक घर एक करेसा बारी कार्यक्रम सञ्चालन गरी आर्थिक उपार्जनसंग जोड्ने नीति लिएको छ । गाउँपालिकाले कृषक उत्पादन गरेको बस्तुको बजारीकरणको लागि कृषि एम्बुलेन्स खरिदको गर्ने भएको छ । यसको लागि रु.२८ लाख विनियोजन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताउनुभयो ।
त्यस्तै गाउँपालिकाले सञ्चालन गर्न लागेको उन्नत जातको बाच्छी वितरण कार्यक्रमको लागि १६ लाख थप गरिएको उहाँको भनाइ छ । गाउँपालिकाले पशुपालन व्यवसायमा कृषकलाई जोडनेका वडा नं १, २, ३ एक कृषक एक उन्नत गाई वितरण कार्यक्रम लागेको हो । यो कार्यक्रम अन्तर्गत यहाँका कृषकलाई करिव दुई सय उन्नत जातका गाई वितरण गर्ने जनाइएको छ ।जसका लागि पहिलो बैठकबाट विभिन्न शिर्षकमा रु. ६० लाख बजेट विनियोजन गरिएको थियो ।
त्यस्तै वडा नं ४ मा खुर्सानी ब्रान्डिङ र वडा नं ५ र ६ बाख्रापालनको लागि कार्यक्रम सञ्चालन हुने जनाइएको छ । फुसको छानो हटाउनको लागि प्रत्येक वडामा रु. २० लाखका दरले रु. एक करोड २० लाख बजेट विनियोजन गरिएको थियो । तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट सडक कालोपत्रको, प्रशासनिक भवन निर्माणको लागिसमेत बजेट विनियोजन गरिएको छ । सडक कालोपत्रको लागि एक करोड सात लाख र प्रशासनिक भवन निर्माणको लागि रु. एक करोड बजेट विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रम पारित गर्दै गाउँपालिका अध्यक्ष किरण राईले यहाँको जनताको आवश्यकता र गाउँपालिकाको प्राथमिकतालाई ध्यानमा राख्दै बजेट, नीति तथा कार्यक्रम बनाएर योजनाबद्ध रुपमा काम गरिने बताउनुभयो ।