भोजपुर, १३ असार । कोशी प्रदेशकी राज्यमन्त्री मन्त्री सिर्जना राईले भोजपुर नगरपालिका ६ देउरालीमा निर्माणधिन एलम्बर सभाहल किरात राई संग्रालयको स्थलगत अनुगमन गर्नु भएको छ । मन्त्री राईले निर्माण भईरहेको संरचनाहरु तथा भईरहेको कामको जानकारी लिने उद्धेश्यले बुधबार स्थलगत अनुगमन गर्नु भएको हो । उहाँले विनियोजन गरेको ५० लाख बजेटमा भवनको अन्तिम चरणको काम भईरहेको छ ।
किराँत राईहरुको संस्कार, संस्कृति तथा आदिम कालमा प्रयोग हुने ऐतिहासिक सामग्रीको संग्रालय(माङखिम घर) बनाउने लक्ष्यका साथ काम भईरहेको छ । कोशी प्रदेश सरकार अन्तर्गत सहरी विकास तथा भवन कार्यालय धनकुटाको करिब रु. तीन करोड १७ लाख लागतमा भवन निर्माण थालिएको हो । उक्त बजेटमा कामले पूर्णता नपाएपछि मन्त्री राईले पुनः बजेट विनियोजन गर्नु भएको छ ।
भोजपुर नगरपालिका ६ देउरालीमा घेराबारासहित चार रोपनी नौ आना क्षेत्रफलमा निर्माण भइरहेको तीन तले सभाहलको पहिलो तलामा किराँत संग्राहालय, दोस्रो तलामा पाटी प्यालेस, तेस्रो तलामा सभाहल र त्यसमा माथि २० फिट अग्लो किराँत राईहरुको विभिन्न संस्कारहरुमा प्रयोगमा आउने (वाबुक) चिन्डो राखिने जनाइएको छ । सभाहलको शिलान्यास २०७७ कार्तिक २३ गते कोशी प्रदेशका तत्कालिन मुख्यमन्त्री शेरधन राईले गर्नु भएको थियो ।