पौवादुङमामा फुसको छानो हटाउने अभियान शुरु


भोजपुर, २९ माघ । भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको शुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा यहाँका तीन सय गरिव तथा विपन्न परिवारलाई छानो वितरण थालेको हो । गाउँपालिकाले फुसको छानो हटाउने सम्वन्धि कार्यविधि तयार गरेर छानो हटाउने अभियानको थालनी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भटट्राईले जानकारी दिनुभयो । मंगलबार वडा नं १ श्यामशिलाका नागरिकलाई जस्तापाता वितरण गरेर अभियानको थालनी गरिएको उहाँले बताउनुभयो । गाउँपालिका भित्रका मापदण्डमा परेका मध्येबाट छ वटै वडाका गरिव, विपन्न, जेष्ठ, एक महिला तथा दलित परिवारको छानो हटाउन शुरु गरिएको उहाँको भनाइ छ ।

“गाउँपालिका भित्रका फुसको छानो हटाउने अभियानको थालनी गरेका छौँ”प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो,“हामीले यसअघि नै घरपरिवारको तथ्याङ्क संकलन गरेका छौँ । पहिलो चरणमा लक्षित परिवारको छानो परिवर्तन गर्ने हाम्रो लक्ष्य छ । आजबाट जस्तापाता वितरण थालेका हौँ ।” गाउँपालिकाले यो आर्थिक वर्षमा रु. एक करोडको बोलपत्र आह्वान गरेर छुसको छानो हटाउन शुरु गरेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

नागरिकको सवैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरुलाई सहज र सुरक्षित रुपमा बास बस्न सक्ने वातावरण निर्माणको लागि गाउँपालिकाले प्राथमिताका साथ फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । केन्द्र सरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटाइएकोले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ । पहिलो चरणमा छ वटै वडाका ५०÷५० घर गरेर तीन सय परिवारलाई जस्तापाताको छानो वितरण हुने अध्यक्ष राईको भनाइ छ ।

“नागरिकको सवैभन्दा सुरक्षित स्थान आफ्नो घर हो” अध्यक्ष राईले भन्नुभयो, “गरिवीकाकारण कतिपय परिवार वषौँबाट चुहिने घरमा बस्दै आएको अवस्था पनि छ । ती नागरिकहरुलाई स्थानीय सरकारले अभिभावकत्व प्रदान गर्न अभियान शुरु गरेर फुसको छानो हटाउन थालेको हौँ ।” गाउँपालिकाले जारी गरेको सूचनाका आधारमा यहाँ छ सय ९९ घरपरिवारको आवेदन परेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । आएका आवेदन मध्येबाट पहिलो चरणमा लक्षित परिवारको छानो फेर्नको लागि जस्तापाता दिइएको उहाँको भनाइ छ । आगामी आर्थिक वर्षभित्र सवै परिवारको फुसको छानो हटाउने लक्ष्य रहेको उपाध्यक्ष राईले बताउनुभयो । “गाउँपालिकामा छ सय ९९ परिवारको आवदेन परेको छ” उपाध्यक्ष राईले भन्नुभयो, “अहिले पहिलो चरणको काम शुरु गरेका छौँ । आगामी अर्थिक वर्षभित्र यहाँका सवै परिवारको फुसको छानो हटाउने योजनाका साथ काम अघि बढाएका छौँ ।”

गाउँपालिकाले एक रुपतासँगै आगालागी तथा अन्य विपतलाईसमेत ध्यानमा राखेर फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ । वडा न. १ श्याशिलाका एक सय ३१ परिवार, वडा नं २ तिवारी भञ्याङमा ७१ परिवार, वडा नं ३ च्याङ्ग्रेबाट एक सय ६ परिवार, वडा नं ४ बास्तिमबाट एक सय ४ परिवार, वडा नं ५ सोनादुम्माबाट एक सय ३२ परिवार र वडा नं ६ ठुलोदुम्माका एक सय ५५परिवार गरी छ सय ९९ परिवारले आवदेन दिएको गाउँपालिको जनाएको छ ।

कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि लक्षित परिवारलाई काम गर्ने तरिका, आवश्यक प्रक्रियाको जानकारी दिनको लागि प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रमसमेत भइरहेको छ । छानो हटाउने पहिलो चरणको कार्यक्रम आगामी ४५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार