भोलीबाट हुने प्रथम पौवादुङमा गोल्ड कप र माघिमेलाको सम्पूर्ण तयारी पुरा


भोजपुर, २९ पुस । भोजपुरमा ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’सँगै माघिमेलाको सम्पूर्ण तयारी पुरा भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा सोमबार अर्थात माघ १ गतेदेखी ९ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । गाउँपालिकाको केन्द च्याङग्रेको रंगशालामा सञ्चालन हुने पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिता अन्तर्गत टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका खोटाङ, देउराली फुटवल क्लव च्याङग्रे, तिवारीभञ्ज्याङ फुटवल क्लव, श्रीनयाँ श्रीनाथ गण भोजपुर शहिदभूमि गाउँपालिका धनकुटा, अरुण गाउँपालिका, षडानन्द नगरपालिका, दिप्रुङ चुईचुम्मा खोटाङ, आम्तेक ११ भोजपुर, द एट स्टार क्लव चम्पे, नेपाल प्रहरी बिराटनगर, छथर गाउँपालिका तेह्रथुम, पञ्चकन्या फुटवल क्लव च्याङग्रे, र फेन्डस क्लव तिवारीभञ्ज्याङको सहभागिता रहने गोल्ड कप तथा माघिमेला कार्यक्रम –२०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो ।

प्रतियोगिता तथा मेलामा राष्ट्रिय कलाकारहरु शम्भु राईसहित बेजोड सांगीतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ । खेल क्षेत्रको विकाससँगै युवा,बालवालिकाहरुको शरिरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ ।

“गाउँपालिकाको आर्थिक व्यावस्थापनमा हामीले पौवादुङमा गोल्ड कपसँगै माघिमेला सञ्चालन गर्न लागेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरलाई जनहि रु. पाँच हजारका साथमा ट्रफि र उत्कृष्ट खेलाडीले नगद रु. १५ हजार साथमा ट्रफि दिइने आयोजक समितिका सचिव देउमान राईले पत्रकारसम्मेलनमा जानकारी दिनुभयो।त्यस्तै महिला तर्फ प्रथम हुनेले नगद रु. ६० हजार, द्धितिय नगद ४० हजारसहित प्रमाण पाउने समितिका सचिव देउमान राईले जानकारी दिनुभयो ।

प्रतियोगिता तथा माघिमेलामा पत्रु खाना (जङ फुड) निषेध गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । गाउँपलिकाले पत्रुखानाको खानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकोले यस्ता खालका खानाहरुको विक्री वितरणमा रोक लगाइएको उहाँको भनाइ छ ।

“प्रतियोगितासँगै माघिमेलामा पत्रु खानालाई निषेध गरिएको छ” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “हामीले स्थानीय उत्पादनलाई पबद्र्धन गर्ने लक्ष्यले यो निर्णय गरेका हौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार