जनताको घरदैलोमै षडानन्द नगरपालिकाको सेवा


भोजपुर, १३ पुस ।भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयको सहजताको लागि वडामै योजना सम्झौता गरेको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलो पटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो । भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै अभियान नै सञ्चालन गरेर नगरपालिकाको सेवा वडास्तरबाट सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाँईले जानकारी दिए । अभियान मार्फत १४ वटा मध्ये भौगोलिक रुपमा अतिनै विकट रहेका नौ वटा वडामा अभिायन सञ्चालन गरेर सेवा प्रवाह गरेको उनको भनाइ छ ।

अभियानमार्फत वडास्तरिय तथा पालिकास्तरिय योजना सम्झौता, प्रभावकारी रुपमा योजना सञ्चालन सम्बन्धि अभिमुखिकरणसँगै बैंक सम्बन्धी सेवासमेत प्रदान गरिएको प्रशासकीय अधिकृत चापागाँईले बताए । “अभियानमार्फत भौगोलिक रुपमा विकट रहेका स्थानका वडा–वडाबाट योजना सम्झौता गरेका छौँ”प्रशासकीय अधिकृत चापागाँईले भने,“योजना सम्झौता गर्न आउदा, जादा बढी समयसँगै खर्च हुने भएकाले अभियान सञ्चालन गरेर सेवा प्रवाह गरेका हौँ । अभिमुखिकरण कार्यक्रम गरिएको हुनाले योजनाको गुणस्थरियतासमेत बढ्छ भन्ने अपेक्षा लिएका छौँ ।”

नगरपालिकाबाट सञ्चालन हुने योजनालाई आगमी बैशाखमहिना भित्रनै सक्ने लक्ष्यका साथ काम अघि बढाएको प्रशासकीय अधिकृत चापागाँईले बताए । त्यसको लागि नगरपालिकाले अनुगमनसँगै कार्यान्वयको पाटोलाई कडाई साथ अघि बढाउने उनको भनाइ छ ।“योजनाको कामलाई गुणस्तरिय ढंगले समयमा सम्पन्न गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ”उनले भने,“हामीले सम्झौताको क्रममा नै यो विषयमा उपभोक्तासमितिलाई सजक गराएका छौँ ।”

नगरपालिकाको सेवा वडाबाट सञ्चालन हुँदा स्थानीयलाई सहज भएको वडा नं १० का अध्यक्ष पेमदोर्ची शेर्पाले बताए । उपभोक्ता समितिलाई योजनाको सम्झौता तथा अन्य कामको लागि नगरपालिका केन्द्र दिङ्ला पुग्न समस्या हुने गरेको अवस्थामा अभियानमार्फत गरिएको कामले प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ । “हाम्रो वडाबाट नगरपालिका केन्द्र पुग्न धेरै समय लाग्छ” वडाध्यक्ष शेर्पाले भने,“स्थानीयले सहज सेवाको माग गरिरहेका थिए । वडाबाट सेवा दिन पाउदा खुसी लागेको छ । यसले स्थानीयलाई धेरै सहज भएको छ ।”

भौगोलिक विकटताका कारण नगरपालिका केन्द्र दिङ्लासम्म आउनु पर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट सेवा प्रदान गरिएको नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले बताए । स्थानीयलाई सहज सेवा प्रदान गर्न अभियान सञ्चालन गरिएको उनको भनाइ छ । भावी दिनमासमेत नगरको सेवालाई थप सहज बनाउने लक्ष्य रहेको प्रमुख उदासले बताए । “ हाम्रा धेरै वडाहरु दुर्गम क्षेत्रमा पर्छन्” प्रमुख उदासले भने,“जसको कारण स्थानीयलाई ले धेरै सास्ती भोग्नु पर्ने अवस्था छ । जनताका समस्यालाई ध्यानमा राख्दै अभियान सञ्चालन गरेर सेवा प्रदान गरेका हौँ । जनतालाई दिने सेवालाई सहज र सरल बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार