
भोजपुर, १३ पौष । प्रविधिमैत्री शिक्षामा जोड दिन टेम्केमैयुङ -४ नागीले तीन महिने कम्प्युटर सम्वन्धि आइसीटी तालिम सञ्चालन गरेको छ । वडा कार्यालयले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउदै, प्रविधिमैत्री पठन/पाठनमा जोड दिन तालिम सञ्चालन गरेको हो ।
शिक्षक तथा कर्मचारीहरुमा कम्प्युटर सम्बन्धि राम्रो ज्ञान नहुँदा प्रविधिमैत्री शिक्षा गुणस्तरिय हुन नसकेको ठहर गर्दै एक माध्यमिकसहित तीन ओटा विद्यालयका शिक्षक तथा कर्मचारीलाई दिएको वडाध्यक्ष हर्कराज राईले बताए । तालिम पश्चात विद्यालयको कार्यसम्पादनसँगै शैक्षिक सुधार हुने अपेक्षा लिएको उनको भनाइ छ ।
“शिक्षणलाई प्रविधिमैत्री बनाउदै शैक्षिक सुधार गर्नको लागि तीन महिने तामिल दिएका हौँ” वडाध्यक्ष राईले भने,“वडा भित्र तीन ओटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई तालिम दिएका छौँ । यसबाट शैक्षिक गुणस्तरमा केहि सुधार आउछ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”
तीन महिने तालिममा एक सय ३५ जनाले प्रविधि सम्बन्धि तालिम लिएका छन्। सोहि अवसरमा कार्यसम्पादनमा सहजता थप्ने उद्धेश्यले स्वास्थ्य चौकीका कर्मचारीलाईसमेत तालिम दिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले यसअघि शिक्षक सिकाई क्रियाकलापलाई गुणस्तरिय बताउनको लागि शिक्षक तथा अभिभावकलाई पनि तालिम दिएको छ ।