भोजपुर, १९ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाउँपालिको केन्द्र अन्नपूर्णमा ‘‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’’ भन्ने मुलनारकासाथ लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको हो । ¥यालीपछि गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा यहाँको नौ ओटै वडाका स्थानीयहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई समाजमा भईरहेको लैङ्गिक हिंसाका बारेमा जानकारी दिनुका साथै हिंसा भएमा कसरी कानूनी उपचार खोज्ने भन्ने विषयमा जानकारी दिइएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा हुने हिंसा न्यूनिकरण गर्नमा सबैले भूमिका खेल्नु पर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रमादेवी राईले न्यायिक समितिमार्फत यस्ता न्यूनीकरणमा गाउँपालिकाले भूमिका खेलिरहेको बताइन् । स्थानीयमा सचेत बनाउन विभिन्न खाले सचेतनामूलक कार्यक्रमसमेत गाउँपालिकाको तर्फबाट सञ्चालन गरिरहेको उनको भनाइ छ ।
‘हामीले लैगिक हिंसा रहित समाज निर्माणका लागि विभिन्न काम गरिरहेका छौँ’ उपाध्यक्ष राईले भनिन्‘तर समाजमा अझैपनि समाजमा घरेलु हिंसाहरु भईरहेका छन् । यस्ता अभियानहरु महिलाको मात्र भन्ने बुझाई पनि देखिएको छ । यो गलत हो । यस्ता अभियानमा सबैले एक भएर जुट्न आवश्यक छ ।’
त्यस्तै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना व्यक्त गर्दै समाजमा अझैपनी महिला दिदीबहिनी विविध किसिमका हिंसा, विभेद र अपमानका पीडा खप्न बाध्य भएकाले यसको न्यूनिकरणमा सवै एकजुट भएर लाग्न आवाश्यक रहेको धारणा राखे ।
समाजमा भईरहेको लैङ्गिक हिंसा अन्त्य गर्ने लक्ष्यको साथ कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए । कार्यक्रममा इलाका प्रहरी अन्नपूर्ण, गाउँपालिकाको स्वास्थ्य शाखा र पञ्जीकरण विभिन्न खाले हिंसासँगै हिंसा भएमा हुने कानुनी उपचारको बारेमा सहभागीहरुलाई जानकारी दिए । त्यस्तै २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा ९ जना स्वयमसेविकाहरुलाई सम्मान गरिएको छ ।