भोजपुरमा पूर्ण सरसफाईको दोश्रो चरणको कार्यक्रम शुरु


भोजपुर, ९ मङसिर । भोजपुर जिल्लामा पूर्ण सरसफाईको दोश्रो चरणको अभियानको शुरुआत गरिएको छ । यसअघि खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको भएपनि सरसफाइको थप निरन्तरताका लागि दोश्रो चरणको काम थालनी गरिएको हो ।

यस वर्षबाट खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले दोश्रो चरणको पूर्ण सरसफाई अभियान अघि बढाएको छ । सरसफाईको कार्यक्रमलाई निरन्तरता दिनको लागि स्थानीय तह तथा अन्य सरोकारवाला पक्षलाई पूर्ण सरसरफाई सम्वन्धि तालिम दिइएको छ । कार्यालयले विगतमा भएका कामको निरन्तरता स्वरुप पुनः सरसफाईको कार्यक्रम अघि बढाएको हो ।

खुल्ला दिशामुक्त भएपश्चात जिल्लाको सरसरफाईको अवस्थाको बारेमा स्थानीय तहसँगको सहकार्यमा आवश्यक तथ्याङ्क संकलन गरेर सोहि अनुरुप भावी कार्यक्रमलाई अघि बढाउने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ शिंहले जानकारी दिए ।

कार्यालयले खानेपानी आयोजना सञ्चालन पूर्व स्थानीयको शौचालयको प्रयोगसँगै सरसफाईको अवस्थाको बारेमा आवश्यक सूचना संकलन गरिरहेको उहाँको भनाइ छ ।

‘हामीले खानेपानी योजनासँगै सरसफाईका कार्यक्रमलाई पनि एक साथ अघि बढाएका छौँ’प्रमुख शिंहले भने,‘यस अघि खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको भएपनि त्यस यता स्थानीय नागरिकको सरसफाईको अवस्थाको बारेमा थप कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यहाँको सरसफाईलाई ध्यानमा राखेर पुनः दोश्रो चरणको कार्यक्रम सञ्चालन गरेका हौँ ।’

वि.स. २०७६ असोज ४ गते भोजपुर पूर्ण खुल्ला दिशामुक्त घोषणा भएयता पहिलो पटक सरोकारवाला पक्षलाई समेटेर पूर्ण सरसफाईको कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । सरसफाई निरन्तर गरिने प्रक्रिया भएकाले पुनः अभियानलाई निरन्तरता दिन सरोकारवाला पक्षलाई तालिम दिइएको प्रमुख शिंहको भनाइ छ ।‘सरसफाई निरन्तर गरिने प्रक्रिया हो’उनले भने,‘एक पटक घोषणा गरेर मात्र यसले पूर्णता पाउने होइन । यहाँका ८१ वटै वडाको सरसफाईको अवस्था बुझेर थप कार्यक्रम बढाउने लक्ष्य छ ।’

जनताको सबै भन्दा महत्वपूर्ण पक्ष स्वास्थ्य र सरसफाई भएपनि राज्यले यसलाई कम प्राथमिकतामा राखेको प्रमुख शिंहले बताए । नागरिकको स्वस्थ्यसँग सरोकार राख्ने सरसफाईको लागि बजेट विनियोजन गर्दा विषेश ध्यान दिनुपर्ने उनको भनाइ छ । पानी र सरसफाईको नङ र मासुको जस्तै सम्बन्ध रहेकोले यसलाई एक साथ सञ्चालन गर्नु पर्ने प्रमुख शिंहले बताए । ‘मानिसको महत्वपूर्ण पक्ष भनेको सरसरफाई हो’उनले भने,‘तर सरसफाईको पक्षमा प्राथमिकताका साथ बजेट विनियोजन भएको अवस्था छैन । नागरिकको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सरसफाईको क्षेत्रमा प्राथमिकताका साथ काम गर्न आवश्यक छ ।’

मानव जीवनको महत्वपूर्ण पक्ष सरसफाई रहेकोले यो विषयमा सवै पक्ष गम्भिर हुनुपर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । जिल्लामा दोश्रो चरणमा शुरु भएको सरसफाईको अभियानलाई पूर्ण रुपमा कार्यान्वयनको लागि स्थानीय सरकार पनि जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

तालिममा सिकेका कुरालाई सहभागीहरुले दैनिक जीवनमा प्रयोगमा ल्याउन पहल थाल्नु पर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।‘सरसफाई जीवनको महत्वपूर्ण पक्ष हो’ प्रजिअ घिमिरेले भने,‘यसले स्वास्थ्य जीवनसँगै मानिसको सभ्यताको पहिचान दिन्छ । जिल्लाको पूर्ण सरसरफाईको कार्यक्रमलाई सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेलेर सफल बनाउन आवश्यक छ ।’

सरसफाईको कार्यक्रम सरकारी कार्यालय, होटल, सार्वजनिक स्थल लगायतमा पनि सञ्चालन गर्न सके अझ प्रभवाकारी हुने सहभागि बताएका छन् । सिकेका कुरालाई आफ्नो स्थानीय तह तथा आफ्नो क्षेत्रमा कार्यान्वयनमा जोडदिने सहभागिहरुको भनाइ छ । नेपाल जनस्वास्थ्य संस्थाको सहजीकरण र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आयोजनामा भएको तीन दिने पूर्ण सरसफाई सम्वन्धि कार्यक्रममा विभिन्न क्षेत्रका २९ जनाले सहभागिता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार