पौवादुङमा-१ श्यामशिलाको वडा कार्यालय तोडफोड भएको विषयमा सर्वपक्ष भेला सम्पन्न


भोजपुर, २४ कात्तिक ।भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलाको वडा कार्यालय तोडफोड भएको विषयमा सर्वपक्ष भेला गरिएको छ । अज्ञात समूहले कार्यालयको मुल गेटको ताला फुटाएरले कार्यालयको सामग्री तोडफोड गरेपछि भेला गरिएको हो । सार्वजनिक कार्यालय तोडफोडले आतङ्क सृजना भएकाले दोषी पत्ता लगाएर कडा कारवाहीको लागि स्थानीयले सरकारसँग गरेका छन् । दोषीको खोजीको लागि स्थानीय जनताले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । दोषी जो कोहि भएपनि कुनै पनि राजनितिक तथा अन्य पक्षबाट संरक्षण गर्न नहुने उनीहरुको भनाइ छ ।

वडा कार्यालयमा तोडफोड भएको विषय सरकार गम्भिर हुनु पर्ने वडाध्यक्ष राजेन्द्र तामाङले बताए । कार्यालयमा तोडफोड भएको विषयमा सर्वपक्ष भेला भएर अपराधि पत्ता लगाउन सहयोग गर्न तथा अपराधिलाई कुनै पनि पक्षबाट संरक्षण नहोस भन्नको लागि साझा धारणा निर्माणको लागि भेला गरिएको वडाध्यक्ष तामाङको भनाइ छ । “हाम्रो वडामा निकै निन्दनिय घटना भएको छ” वडाध्यक्ष तामाङले भने,“यो घटनाले हामीलाई निकै दुखित बनाएको अवस्था छ । घटनाको जानकारीसँगै आ–आफ्नो ठाउँबाट अपराधिको खोजीको लागि सहयोग लागि साझा धारणा निर्माण गर्न सर्व पक्ष बैठक बसेका हौँ ।”

अपराधीको खोजीको लागि स्थानीय तर्फबाट पनि सहयोग गर्नु पर्ने पूर्व वडाध्यक्ष जितेन्द्र राईले बताए । अभिभावकहरुले आफ्ना छोरा छोरीको गतिविधि नियाल्न आवश्यक रहेको उनको भनाइ छ । “हाम्रो सार्वजनिक सम्पति माथि तोडफोड गरिएको अवस्था छ” उनले भने,“यो निकै गम्भिर र संवेदनशिल विषय हो । हामीले आफ्नो छोराछोरीको गतिविधिलाई पनि नियाल्न आवश्यक छ ।” बैठकका सहभागीले अपराधिको खोजीको लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन् ।

गत २१ गते अज्ञात समुहले राती कार्यालय भित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएइएको थियो । कार्यालयमा रु. एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार