भोजपुर १९ कात्तिक । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई भोजपुर तीन स्थानीय तहले सहयोग गरेका छन् । जिल्लाको पौवादुङमा गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र अरुण गाउँपालिकाले भुकम्प पीडितको सहयोगका लागि राहत कोषमा रकम जम्मा गर्न सुरु गरेका हुन् । गाउँपालिकाको निर्णय अनुसार पालिकाको बिपद ब्यवस्थापन कोष मार्फत पीडितका लागि सहयोग गर्न लागिएको रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए । अध्यक्ष राईले भने, “जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडित परिवारका लागि बिपत ब्यवस्थापन कोषबाट खर्च हुने गरी प्रति जिल्ला एक / एक लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छौ ।” यो रकमले पीडितका लागि थौरै भए पनि राहत मिल्ने छ ।
पौवादुङमा गाउँपालिकाले पनि पीडितका लागि दुई लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए। दुई जिल्लामा भूकम्पबाट मानवियसँगै ठुलो धनजनको क्षति भएकाले पालिकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईबताए । दुई जिल्लामा भूकम्पबाट मानवियसँगै ठुलो धनजनको क्षति भएकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईको भनाई छ । दुवै जिल्लाको दैविक विपद् व्यावस्थापन कोषमा सहयोग रकम जम्मा गरेको उनले बताए ।
“ यो एउटा दुःखद अवस्था हो ”अध्यक्ष राईले भने, “यसको सवै मिलेर सामना गर्न आवश्यक छ । हामीले पनि केहि राहत पुगोस् भन्नको लागि रु।दुई लाख सहयोग गरेका छौँ ।”
त्यस्तै अरुण गाउँपालिकाले पनि १ लाख आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले भूकम्प परी बढी क्षती पुगेका दुई जिल्लाका भूकम्प पिडितलाई खर्च हुनेगरी स्थानीय विपद् व्यवस्थापन कोषबाट ५० / ५० हजार नगद आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताए । कात्तिक १७ गते राति जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा केन्द्र विन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।